Bagmati Samachar Logo

२३ र २४ मा जे भयो त्यो एमाले सरकार र देश विरुद्ध थियो : ओली

काठमाडाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको सबै कुरा सरकार, देश र जनता विरुद्ध भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २३ र २४ भदौको सबै कुुरा देश, जनता र एमाले सरकार विरुद्ध आयोजना गरेको दाबी गरेका छन् । उनले भने,‘२३ र २४ भदौमा भएकाको जे नाम दिएपनि हाम्रो विरुद्ध, हाम्रो सरकारको विरुद्ध, देश र जनता विरुद्ध आयोजना गरेको थियो । हाम्रो निति र विचारका विरुद्ध थियो ।’

उनले कानु विपरित विघटन गरेको संसद पुर्नस्थापना गर्न पनि आफूले साथ नपाएको गुनासो गरे । उनले भने,‘संसद पुर्नस्थापना गर्न तर्फ जाउँ भन्दा साथ पाएनौँ । एमाले विरुद्ध भएको सबै जनमत आफ्नो भागमा आउछ । एमालेका विरुद्ध फैलाइएको घृणाको लाभ पाउने आस गरेर चुनावमा गएकाहरुको पनि अहिले ठिक्क परेका छन् । एमाले तेस्रो पार्टी भयो । उहाँहरुको अवस्था देखिहालियो ।’

एमालेले धक्का खाएको भएपनि त्यो आफ्नो र पार्टीको नितिका कारण नभएको बताए । उनले भने,‘एमाले बिग्रेको छैन । मैले सच्चिनु पर्ने के मा हो ? पार्टी विचार हिन बनाउनु पर्यो की ? नत्र के मा सच्चिने, हामी सहि ठाउँमा छौँ । सांगठनिक हिसाबले कमजोर भएका छौँ । नितिमा कुनै त्रुटि छैन । हाम्रो सहिनितिमाथि प्रहार हुँदा झेल्न सकेनौँ । यसमा हिनताबोध नगर्नुहोस् ।’

उनले सांसदहरुलाई संसदीय मोर्चामा खरो उत्रन र प्रतिपक्षको भूमिका प्रभावकारी रुपमा निभाउन पनि निर्देशन दिएका छन् । उनले भने, ‘प्रतिपक्षको भूमिका प्रभावकारी रुपमा निभाउनु पर्छ । सरकारका खराब काम, कमि कमजोरीको खवरदारी गर्नु पर्छ ।’

संसदमा पार्टीका विचार भन्दाबाहेक मलाई यस्तो लाग्यो भनेर नबोल्न पनि निर्देशन दिएका छन् ।

उनले भने, ‘पार्टी एकताबद्ध र एक ढिक्का भएर अघि बढ्नुपर्छ । जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यति बेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन । हामी आफू खुसी चल्न त्यहाँ पुगेका होइनौँ ।’

ओलीले राष्ट्रलाई क्षति विक्षत गर्ने प्रयास भइरहेको पनि बताएका छन् । उनले भने,‘जात जातमा विभाजन भएको छ । जातलाई मत दिनु गलत हो । जनतालाई विभाजन गर्ने काम भएको छ । एमाले विरुद्धको कुप्रचार रोक्नु पर्छ ।’

सांसदहरुसँग ओलीले २०७६ देखि ०७८ सालसम्म आफ्नै पार्टीभित्रबाट आफ्नै सरकार ढाल्ने खेल भएको आरोप लगाए । उनले भने,‘२०७४ देख ०७९सम्म संसदमा अराजकताको पराकाष्ठा थियो । आफ्नै सरकार ढाले । सरकारले असाधारण काम गर्दा पनि आफ्नैहरुले उछितो काढे । अन्या अत्याचार भयो भन्ने भास्य बनाइयो । घृणा फैलाईयो । विपक्षीलाई मत दिएर सरकार बनाइयो । लोकतन्त्र विरुद्ध भद्दा क्रियाकलाप भए । नेतहरुले गलत बोटोको अभ्यास गरे ।’

सांसदहरूलाई निर्देशन दिँदै ओलीले संसद र सडकमा मोर्चाबाट लड्ने बताएका हुन् ।
छिट्टै अभिमुखीकरणको कार्यक्रम राखेर सांसदलाई विज्ञबाट प्रशिक्षित गर्ने बताएका छन् ।