Bagmati Samachar Logo

कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २४ देखि २६ भदौमा काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ । सो प्रस्ताव मंगलबार केन्द्रीय समिति बैठकमा पेस हुँदै छ ।

प्रस्तावित कार्यतालिका अनुसार आगामी २१ चैतदेखि मसान्तसम्ममा क्रियाशील सदस्यता फारम सबै तहमा पुर्‍याउने र सदस्यता वितरण तथा अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने विषय उल्लेख गरिएको छ ।

त्यस्तै, आगामी १ वैशाखबाट मसान्तसम्म सबै वडामा क्रियाशील सदसयता वितरण तथा रिन्यु गर्ने प्रस्ताव छ । सदस्यता वितरणलाई डिजिटल प्रणालीमा लैजाने प्रस्ताव पनि कांग्रेसको छ । सदस्यले सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्ने, सबै वडा र क्षेत्रीय कार्यसमितिलाई आईडी र पासवर्ड वितरण गर्ने प्रस्ताव बैठकमा पेस गरिँदै छ ।

त्यस्तै, वैशाख महिनाभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ ।

आगामी १ देखि १५ जेठसम्म वडाबाट प्रतिनिधिसभा क्षेत्र र जिल्लामा क्रियाशील सदस्यता विवरण बुझाउनुपर्नेछ । २५ जेठभित्र क्षेत्र र जिल्लाले इन्ट्री गरेर २५ जेठसम्म सदस्यता विवरण केन्द्रमा पठाउनुपर्नेछ ।

त्यस्तै, जेठ महिनाभित्र जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी केन्द्रमा पठाउनुपर्नेछ ।

तल्ला तहबाट आएका सदस्यताको विवरणउपर केन्द्रले आवश्यक छानबिन गरी १५ असारभित्र टुंगोमा पुर्‍याउनुपर्नेछ ।
कांग्रेसले पुसमा विशेष महाविधेशन गरेको थियो । विशेष महाधिवेशनबाट गगन थापा लगायतका नेतृत्वमा आएका थिए । तर तत्कालीन सभापति शेरबहादु्र देउवा समुहले भने अहिलेसम्म विशेष महाधिवेशनलाई आधिकारीक मानेको छैन ।