Bagmati Samachar Logo

२१ चुनावी क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा पार्टीभित्रको अन्तर्घातका कारण धेरै क्षेत्र हारेको निष्कर्ष निकालेको छ । कांग्रेसले कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण हारेको बताएको छ । जारी केन्द्रीय समिति बैठकमा भएको समीक्षाबारेमा जानकारी दिँदै पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्य रूपमा आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए ।

५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल न्यारेटिभले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष उनले बताए ।

‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ । यो भोटको माइग्रेसन मात्रै हो कि माइन्डसेट नै माइग्रेसन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौँ,’ प्रवक्ता चालिसेले भने, ‘५ देखि ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ । ती सिट संख्याहरू २०२१ वटा निर्वाचन क्षेत्रहरू छन् ।’

८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको उनले बताए ।

‘३ हजारदेखि ५ हजार मत फरकमा पराजित हुनुको कारण निर्वाचन क्याम्पेनमा नै त्रुटि भएका कारणले हुन सक्छ । हामी त्यसमा समीक्षा गर्दै छौँ । ५ हजारदेखि १० हजारसम्मको ठूलो मार्जिनमा हामी पराजित भएका छौँ, कतिपय क्षेत्रहरूमा अन्तर्घात, क्याम्पेनमा समस्याका साथै केही न्यारेटिभका कारण पनि हामीलाई डिफेन्टिभ बनायो, त्यसमा हामी असफल भयौँ,’ चालिसेले भने, ‘कतिपय क्षेत्रमा संगठनात्मक कमजोरी मात्रै नभईकन अझ बढी केही ठाउँहरूमा ठूलो मतान्तरमा चुनावको नतिजामा फरक देखिएको छ, त्यसमा जनताको विश्वासमा नै प्रश्न उठेको हो कि भन्ने छ ।