Bagmati Samachar Logo

जनवर्गीय संगठनको बैठकमा प्रचण्डकाे राजीनामा माग

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बैठकमा राजीनामा मागेका छन् ।
बिहिबार नेकपाका जनवर्गीय संगठनहरुको बैठकमा अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले नेकपाको अहिलेको नेतृत्वले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका बैठकमा सहभागी एक सदस्यले बताए ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको चुनावमा नेकपाको पराजयमात्र नभएर समग्र वाम आन्दोलनको समिक्षा गर्दै नेतृत्वले छोड्नु पर्ने माग थापाले बैठकमा राखेका ती सदस्यले बताए । ती सदस्यले थापाको भनाइ भन्दै भने,‘विराजले सरल भाषामा संयोजक प्रचण्डलाई नेतृत्व छोड्न आग्रह गर्नु भयो । अब प्रचण्डले सानो पार्टीको नेतृत्वमा बसेर उर्जा खर्च गर्नु हुँदैन । देशको अभिभावक बन्नु पर्छ । पार्टी राजनीतिबाट विदा लिने समय आएको छ । विदा लिनु पर्छ ।’

नेकपाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनवर्गीय संगठनहरुको बैठक बोलाएको थियो । चुनावको समिक्षा गर्न जनवर्गीय संगठनका पदाधिकारीहरुसँग चुनावको समिक्षा र अनुभव पनि सुन्ने सुनाउने काम गरेको थियो ।

जेन–जी आन्दोलन पछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतकाका पार्टी र समुहहरु मिलेर नेकपा बनेको थियो । तर चुनावमा चौथो भएको छ । प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जीतेको छ ।

बैठकमा थापाले संसदीय राजनीतिमा केहि नम्स हुने भएकाले अझै प्रचण्डले दलको नेता बन्न नहुने पनि बताएका बैठकमा सहभागी अर्का सदस्यले बताए ।
ती अर्का सदस्यले भने,‘विराजले बैठकमा नै प्रचण्डले पार्टी नेतृत्वमात्र होइन दलको नेता पनि बन्नु हुँदैन । संसदीय राजनीति गर्ने हो भने ३६ वर्षका बालेन प्रधानमन्त्री भइरहदा दलको नेता पनि तेस्रो पुस्ताबाट बनाउनु पर्छ ।’

बैठकमा थापाले अहिलेको नेतृत्वले महाधिवेशनको मिति घोषणा गरेर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पनि माग गरेका थिए ।

प्रचण्डले जनयुद्धको नेतृत्व गरेर यहाँसम्म पार्टी ल्याएकाले अब नेतृत्वबाट विदा लिनु पर्ने भन्दै युवा नेताहरुले सामाजिक सञ्जालमा पनि बहस सुरु गरेका छन् ।
विभिन्न पार्टी र समुह मिलेर बनेको नेकपाले यो चुनावमा राम्रो नतिजा ल्याउन सकेन ।

नेतृत्वले अहिलेको समय अनुसार पार्टी चलाउन नसकेको भन्दै युवाहरु कसरी पार्टीलाई पुर्नगठन गर्ने भन्ने विषयमा छलफल हुनु पर्ने बताउन थालेका छन् ।
बैठकमा किसान संगठनका अध्यक्ष चित्रबहादुर श्रेष्ठलगायत जनवर्गीय संगठनका नेताहरु बोलेका थिए ।