रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो।
सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा एमालेकै उम्मेदवार अम्बरबहादुर रायमाझीले रास्वपाका दुबै जनालाई निर्वाचित घोषणा गर्ने आयोगको निर्णय बदर गरेर आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्।
उनीहरू दुवै जनाले वारेस युवराज पौडेल (सफल) मार्फत रिट दायर गरेका हुन्। रास्वपाका यी दुवै सांसद उम्मेदवार हुँदा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको र उम्मेदवार बन्न नै अयोग्य रहेकाले उनीहरूलाई निर्वाचित घोषणा गर्न नमिल्ने उनीहरूको दाबी छ।
उनीहरूले निर्वाचन आयोगलाई समेत छलछाम गरेर आफू कालो सूचीमा हुँदाहुँदै अवैध रुपमा उम्मेदवार बनेको निवेदनमा जिकिर गरिएको छ। उनीहरूको उम्मेदवारी नै बदर हुने भएकाले दोस्रो बढि मत ल्याउने यी दुवै निवेदकले आफूलाई सांसदमा निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्।
निर्वाचन आयोगले यसअघि गरेको घोषणा र प्रमाण पत्र पनि बदर गर्न उनीहरूको माग छ। उनीहरूको शपथ रोक्न पनि निवेदकले अन्तरिम आदेश माग गरेका छन्।
यी दुवै रिटमा चैत २५ गतेलाई पेसी तोकिएको वारेस युवराज सफलले बताए ।
यसअघि धनुषा क्षेत्र नं १ का रास्वपाकै उम्मेदवार किसोरी साहको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालो सूचीमै रहेका कारण बदर भएको थियो।
प्रतिक्रिया दिनुहोस्: