संसदमा एमालेको नेतृत्व गर्ने अवसर माओवादी पृष्ठभूमिका बादललाई
काठमाडौं । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को लहर चल्दा अघिल्लो संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको छ । अहिलेसम्म ३९ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा एमाले २ क्षेत्रमा मात्रै विजयी भएको छ ।
झापा– ५ बाट उम्मेदवार बनेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग तेब्बर मतले पछाडि छन् । उनी पराजित हुने निश्चित जस्तै देखिएको छ ।
उपाध्यक्ष विष्णु पाडेल रुपन्देही– २ बाट पराजित भएका छन् । त्यस्तै, महासचिव शंकर पोखरेल दाङ– २ मा पराजित भएका छन् । अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङमा रास्वपाका धर्मराज केसीभन्दा दोब्बर मतले पछाडि छन् ।
त्यसैगरी गुल्मी– २ मा प्रदीप ज्ञवालीको अवस्था पनि खराबतर्फ उन्मुख छ । काठमाडौं– ५ बाट पूर्वउपाध्यक्ष ईश्वर पोखरेल पनि हारेका छन् । भने भक्तपुरबाट सचिव महेश बस्नेत पनि हार्ने निश्चत भएको छ ।
पदाधिकारी र शीर्ष नेताहरू धमाधम हारेपछि आगामी संसदमा एमालेको नेतृत्व कसले गर्ला भन्ने विषय चर्चमा रहेको छ । यस चर्चामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नाम अगाडि आएको छ । बादल एमालेको समानुपातिक सूचीको पहिलो स्थानमा छन् ।
बादल माओवादी पृष्ठभूमिका नेता हुन् । एमालेले उनलाई चुनावको कमान्डर बनाएको छ । चुनावी अभियानमा कहीँकतै देख्न सुन्न नपाए पनि बादल दलको नेता बन्ने देखिन्छन् ।
बादलले चार वर्षअघि नेकपा विभाजनसँगै प्रचण्ड छोडेर ओलीलाई साथ दिएका थिए । बादल एमालेको निर्वाचित उपाध्यक्ष पनि हुन् । पार्टीका अधिकांश पदाधिकारी र शीर्ष नेताहरू चुनावमा पराजित हुँदा बादलले दलको नेता बन्ने अवसर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्: