११ जिल्लामा चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जिम्मा महिलाहरुको
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा ११ जिल्लाको नेतृत्वमा महिला प्रमुख जिल्ला अधिकारी छन् । १६५ निर्वाचन क्षेत्रमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि सुरक्षा लगायतको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हुने गर्छ ।
जिल्ला भरीको शान्ति सुरक्षाको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हुन्छ । अझ चुनावको समयमा शान्तिसुरक्षा संवेदनशील मानिन्छ । अरु समयको भन्दा बढी जिम्मेवारी चुनावको समयमा हुन्छ । अहिले राजनीतिक पार्टीको सरकार नभएर नागरिक सरकार छ । सरकारमा भएका मन्त्रीहरु पनि राजीनामा दिएर चुनावमा होमिएका छन् ।
सरकार चुनावका कारण दबाबमा हुनु स्वभाविक हो । त्यसको असर जिल्ला जिल्लामा पनि पर्ने नै हुन्छ ।
प्रमुख जिल्ला अधिकारीले निर्वाचन आयोग, आचारसंहिता कार्यान्वयन र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्नु पर्छ । यसपटक ७७ जिल्लामध्ये ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) महिला छन्।
शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने संवैधानिक तथा प्रशासनिक जिम्मेवारी उनीहरूकै काँधमा छ । प्रदेश राजधानीदेखि हिमाली विकट भूगोलसम्म फैलिएका ती जिल्लामा महिला नेतृत्वले सुरक्षा संयन्त्र, राजनीतिक समन्वय र प्रशासनिक दक्षताको परीक्षा दिइरहेको छ ।
कास्कीमा अनुभवी सहसचिव रुद्रादेवी शर्मा प्रमुख जिल्ला अधिकारी छन् । अहिले कास्कीको सम्पूर्ण जिम्मेवारी उनको काँधमा छन् । शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गर्ने । भयरहित वातावरणमा मतदान गराउनु पर्ने छ ।
शर्मा समता प्रेससँगको कुराकानीमा भन्छिन्, ‘निर्वाचन आयोगको कार्यतालिका अनुसार सबै काम सुचारु छ । आचारसंहिता उल्लङ्घनका गुनासा न्यून छन् । ४४ सयभन्दा बढी सुरक्षाकर्मी परिचालनमा छन् । सबै मतदान केन्द्र अनुगमन गरिसकेका छौँ ।’
जेनजी आन्दोलनमा मकवानपुरको प्रमुख जिल्ला अधिकारी रहेकी स्किम श्रेष्ठ सिन्धुली जिल्लाको नेतृत्वमा छिन् । उनले पनि शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउनु पर्ने जिम्मेवारी छ ।
मकवानपुरमा गत भदौ २३ र २४ गते जेनजीको विद्रोहका क्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरमात्र जोगिएको थियो । उनलाई अहिले पनि त्यतिकै चुनौति छ ।
पाल्पामा सहसचिव बिनु बज्राचार्य प्रजिअ छन् । उनलाई पनि सौहार्दपूर्ण वातावरणमा मतदान गराउने जिम्मेवारी छ ।
रुकुम पूर्वमा इतिहास र जिम्मेवारी सिता परियारको काँधमा छ । परियार प्रजिअ हुन् । उनी दलित महिलाबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी बनेकी ऐतिहासिक व्यक्तित्व हुन् । यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेका छन् ।
संखुवासभामा सिर्जना थपलिया प्रजिअ बनेकी छन् । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लाको सम्पूर्ण जिम्मेवारी उनको हातमा छ ।
तेह्रथुममा उपसचिव बन्दना राई प्रजिअ छिन् । राई जिल्लामा शान्तिपूर्ण मतदान सुनिश्चित गर्नु पर्ने छ ।
सोलुखुम्बुमा लिलाकुमारी केसी पनि प्रजिअ छन् । उनको जिम्मामा पनि शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नु पर्ने छ ।
मुस्ताङमा अजिता शर्मा प्रजिअ छिन् । उनलाई पनि कम चुनौति छैन । मतदाता कम तर भूगोल धेरै ठूलो छ । डोल्पामा जुनु हमाल प्रजिअ छन् । उनको पनि भूगोल सबै भन्दा ठूलो र मतदाता कम भएको जिल्ला हो । तर सुरक्षा चुनौति भएको जिल्लामा पर्छ ।
मुस्ताङ र डोल्पा हिमाली भूगोल, सीमित पहुँच र मौसमीय चुनौतीबीच मतदान सामग्री ढुवानी, सुरक्षा परिचालन र कर्मचारी व्यवस्थापन विशेष चुनौती हुन् । डोल्पाजस्तो विकट जिल्लामा डेढ महिनाअघि मात्र जिम्मेवारी सम्हालेकी हमालका लागि यो पहिलो ठूलो प्रशासनिक परीक्षा हो ।
खोटाङमा रेखा कँडेल प्रजिअ छिन् । उनको लागि पनि यो चुनौति छ । डोटीमा कल्पना घिमिरे प्रजिअ छिन् ।
फागुन २१ को निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, प्रशासनिक विश्वसनीयताको पनि परीक्षा हो ।
११ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारीले यो चुनाव सम्पन्न गरेर आफूहरु जस्तो चुनौतिको पनि सामना गर्न सक्ने रहेको प्रमाणीत गर्नु पर्ने छ । ११ जना महिला प्रमुख जिल्ला अधिकारीमा प्रदेश राजधानी कास्कीदेखि हिमाली डोल्पासम्मसम्मको जिम्मेवारीमा छन् । सबै महिला प्रजिअको मुख्य काम भनेको शान्तिपूर्ण, निष्पक्ष र भयरहित चुनावसम्पन्न गराउने रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: