Bagmati Samachar Logo

को हुन् अमेरिकाको आक्रममा ज्यान गुमाएका इरानका सर्वोच्च नेता अली खामेनेई ?

काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको अमेरिका र इजरायलले गरेको आक्रमणका क्रममा मृत्यु भएको पुष्टि भएको छ । इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्डस् कप्रस (आईआरजीसी) ले अमेरिकी हमलामा सर्वोच्च नेताको ‘सम्मानित शहादत’ भएको उल्लेख गरेको छ । साथै इरानको सेनाले जनतासँग राष्ट्रिय एकता बलियो देखाउन अपिल समेत गरेको छ । खामेनेईको मृत्युपछि इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

८६ वर्षीय खामेनेईको कार्यकालमा नै इरानले परमाणु कार्यक्रम अघि बढाएको थियो । अमेरिकी उक्साहटमा इराकले इरानमाथि हमला गरेपछि इरानले पश्चिमा शक्तिबाट उत्पन्न हुनसक्ने खतरा अन्त्यका लागि परमाणु कार्यक्रम सुरु गरेसँगै इरान–अमेरिका तनाव चर्किएको थियो ।

खामेनेईले नै रिभोल्युसनरी गार्ड र क्षेत्रीय प्रोक्सी नेटवर्कलाई बलियो बनाए । तर, पश्चिमा प्रतिबन्धन र आर्थिक संकटका कारण इरानमा विस्तारै विरोधको स्वर बढ्यो । सन् २०२२ मा महसा अमिनी आन्दोलनसहित केही आन्दोलन उनले कठोरतापूर्वक दमन गरेका थिए । गत २८ डिसेम्बरदेखि सुरु भएको सरकार विरोधी आन्दोलनमा मात्रै सयौं प्रदर्शनकारी मारिएका थिए ।

सन् १९८९ मा आयातोल्लाह रुहोल्लाह खुमेनीको मृत्युपछि खामेनेई सर्वोच्च नेता बनेका थिए । त्यसलगत्तै उनले इस्लामिक गणतन्त्र इरानलाई नयाँ दिशा दिए । उनले शिया धर्मगुरु र रिभोल्युसनरी गार्डको शक्तिमा वृद्धि गरे भने सैन्य र आर्थिक रुपमा यो संस्थालाई शक्तिशाली बनाए ।

उनको शासनकै समयमा सुरु भएको परमाणु कार्यक्रमबारे सन् २०१५ मा बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकासहितका देशसँग परमाणु सम्झौता समेत गरेका थिए । तर, ओबामा सत्ताबाट हटेर ट्रम्प आएलगत्तै उनी यो सम्झौताबाट पछि हटेपछि फेरि तनाव बढेको थियो । यो क्रममा इरानले उच्चस्तरमा युरेनियम सम्बर्धन जारी राख्यो ।

क्षेत्रीय स्तरमा खामेनेईले ‘एक्सिस अफ रेजिस्टेन्स’ अनुसार हिज्बुल्लाह, हमाससहितका समूहलाई सहयोग गर्ने नीति लिए । यद्यपि २०२३ मा हमासले इजरायलमाथि गरेको हमलासँगै इरानका सहयोगी समूहमाथि इजरायलले क्रुरतापूर्वक हमला गर्‍यो र यी समूह कमजोर बने ।

उनको निधनपछि इरानको भविष्यलाई लिएर केही प्रश्न उठेका छन् । अब ८८ सदस्यीय ‘एसेम्बली अफ एक्सपर्ट्स’ ले नयाँ सर्वोच्च नेता चयन गर्नेछ ।

यस्तो थियो उनको चर्चित भाषण

सन् २००९ मा इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अली खामेनेईले भावुक मन्तव्य दिएका थिए । उनले भनेका थिए, ‘मसँग विपन्न आत्मा छ । अपूर्ण शरीर छ । र छ तपाईंले दिएको अलिकति स्वाभिमान । म यसलाई क्रान्ति र इस्लाममा अर्पण गर्न चाहन्छु ।’

बेलायती विश्व समाचार च्यानल बीबीसीले ४ अप्रिल सन् २०११ मा लेखेको समाचारमा खामेनेईका यी भावुक लाइन छन् । १७ वर्षपछि खामेनेई शनिबार मारिए । अमेरिका र इजरायलको संयुक्त हमलापछि खामेनेई मारिएका हुन् ।

अमेरिका र इरानले जेनेभामा वार्ता गरेको एक हप्ता नपुगी खामेनेई मारिएपछि अमेरिकाले कूटनीतिक वार्ताको नाट्य मञ्चन गरेर हमला गरेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भइरहेको छ । ट्रम्पको कूटनीतिक अपरिपक्कतामा धेरैले प्रश्न उठाएका छन् ।

सन् २०१२ ताका तत्कालीन राष्ट्रपति बाराक ओबामाले सत्ता लम्ब्याउन इरानमा हमला गर्ने सार्वजनिक आरोप लगाउने ट्रम्पले अहिले इप्स्टिन फाइलको मुद्दाबाट ध्यान मोड्न इरानमा हमला गरेको अमेरिकी टिप्पणीकारहरूले नै बताएका छन् ।

अझ रोचक कुरा त युद्धको विरोध गरेर सत्तामा आएका ट्रम्पले इरानमाथि प्रत्यक्ष हमला गरी सर्वोच्च नेताको हत्या गरेर युद्धको जेहाद छेडे । प्रतिक्रियास्वरूप इतिहासमा पहिलोपटक अरब क्षेत्रका सबै अमेरिकी सैन्य शिविरमा इरानले हमला गर्‍यो । हमलाको केन्द्रमा खामेनेई मारिएको मुद्दा छ ।

११ वर्षको उमेरबाटै धार्मिक गुरु

खामेनेईको जन्म सन् १९३९ मा भएको थियो । त्यो बेला इरानमा इस्लामिक गणतन्त्र आइसकेको थिएन । धर्मनिपरेक्ष राजा शाह महोमद रेजा पल्लवी थिए । राजाले धर्मलाई पुरातनपन्थ मान्थे । त्यस्तो बेलामा इरानको धार्मिक नगरी मासादमा जन्मिएका खामेनेईले धार्मिक पोसाक लाउँदा धेरैले गिज्याउँथे । साथीभाइसँग खेल्दा उनलाई धेरै सकस हुने उनको जीवनी लेखनमा जोडिएका मेहदी खालाजीले बीबीसीलाई बताएका थिए ।

राजतन्त्र ढाल्ने मोर्चामा सक्रिय, कम्युनिस्ट नेतासँगै जेलमा

खामेनेई धार्मिक क्षेत्रमा लागेता पनि राजनीतिक रूपमा पनि सक्रिय थिए । इरानमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनमा उनको जोडबल थियो । त्यसै क्रममा उनी जेलमा परेका थिए । उनका जेलमेट थिए इरानका मार्क्सवादी कम्युनिस्ट नेता हुसाङ असदी । बीबीसीलाई असदीले खामेनेईका बारेमा भनेका थिए, ‘उनी धेरै असल थिए । स–साना कुरामा चुट्किला भन्थे । उनलाई यौनमा कुनै चासो थिएन ।’

सत्तामा आउनुभन्दा अगाडि नै बम हमला

खामेनेई सत्तामा सन् १९८९ मा आएका थिए । सन् १९७९ मा स्थापना भएको इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्ला रुहोल्लाह खोमेइनीको हृदयाघातबाट ज्यान गएपछि उनी सर्वोच्च नेताको रूपमा आएका थिए । उनी सत्तामा आउनुभन्दा अगाडी बम हमलाको सिकार भएका थिए । सन् १९८१ मा उनले पत्रकार सम्मेलन गर्दैगर्दा टेप रेकर्डरमा राखिएको विस्फोटक पदार्थ पड्केर उनी घाइते भए । उनको दायाँ पाखुरा चल्दैनथ्यो । उनले घटना बारेमा भन्ने गर्थे, ‘आक्रमणपछि म अन्त्यन्तै खराब अवस्थामा थिएँ । म बाँच्छु भन्ने त कसैले पनि कल्पना परेको थिएन ।’

टेप रेकर्डरमा बम हालेर पड्काउँदा जीवित भएका खामेनेई शनिबार अ‍ेमरिका र इजरायलको संयुक्त हमलामा परेर मारिए । रोचक कुरा इरानको इस्लामिक गणतन्त्रका संस्थापक नेता खोमेइनी जस्तै ८६ वर्षकै उमेरमा अस्ताए खामेनेई । उनी इरान गणतन्त्र स्थापना भएपछिका दोस्रो सर्वोच्च नेता हुन् ।

सिगरेट, बगैँचा र कविताका पारखी खामेनेई

बीबीसीले सन् २०११ मा लेखेको समाचार अनुसार खामेनेईले धार्मिक सभामा अमेरिकाविरुद्ध बोल्ने गर्थे । उनको राजनीतिक लाइन नै अमेरिकाविरोधी हो । सँगै खामेनेईका अरु सौख थिए । उनी सिगरेट पिउँथे । तर पछि धार्मिकता बढ्दै गएपछि पिउँन छोडे । बगैँचा गोडमेलमा व्यस्त हुन्थे । कविताका पनि पारखी भएको भतिजा महोमह मोरादखानीले बीबीसीलाई बताएका थिए । भनेका थिए, ‘उनी धेरै असल र सामाजिक थिए ।’

कसैका नायक, कसैका खलनायक खामेनेई

खामेनेई सत्तामा आएपछि इरानको परमाणु कार्यक्रम बलियो भयो । इरानको प्रभाव क्षेत्र इरानी सीमा पार गरेर अरब क्षेत्रभर फैलियो । हुथी, हमास र हिजबुल्लाहजस्ता सैन्य दस्ता हुन् वा विभिन्न राजनीतिक शक्ति सबैमा इरानले पकड बनायो ।

इजरायलले अरब क्षेत्रका सबै देशलाई ठेगान लगाएर राखेको बेलामा इजरायललाई पृथ्वीको नक्साबाट हटाउँछौँ भन्ने ताकत भएका अरब देशमा एक्लो बलियो देश इरान थियो, एक्ला जब्बर नेता खामेनेई थिए । अमेरिकी विश्व समाचार च्यानल सीएनएनले खामेनेईको मृत्युको समाचारमा उनले चार दशकसम्म अमेरिकी र इजरायली दबाब झेलेर बसेको भन्दै मध्यपूर्वका सबैभन्दा शक्तिशाली नेताको उपमा दिएको छ ।

इरानका समर्थकले इरानलाई अमेरिका र इजरायली दादागिरीको प्रतिरोध गर्ने नेताको रूपमा तारिफ गर्ने गर्छन् । अरु त अरु शनिबार इरानले अरब देशका सैन्य शिविरमा हमला गर्दा धेरै स्थानीयले खुसियाली मनाएका भिडियो सार्वजनिक भएका छन् । खामेनेईको समर्थनमा भारतको काश्मीरमा पनि प्रदर्शन भएका भिडियो सार्वजनिक भएका छन् ।

खामेनेई विवादरहित भने थिएनन् । उनले मानव अधिकार हनन गर्नेदेखि प्रतिपक्षीलाई ज्यादति गर्ने आरोप इरानकै असन्तुष्ट समूहबाटै उठ्दै आएको छ । पछिल्लो समय इरानका विश्वविद्यालयदेखि सडकसम्म भएका विद्यार्थी, सर्वसाधारण र महिलाको प्रदर्शनमा इरानले लिएको कठोर दमनमा खामेनेईलाई धेरैले आलोचना गरेका छन् । इरानको प्रदर्शनमा हजारौँ मारिएको बताइन्छ । त्यसमा पनि खामेनेईको आलोचना हुने गरेको छ ।

सन् १९९९ को प्रदर्शन, सन् २०१९ को प्रदर्शन, सन् २०२२ को प्रदर्शन र यो वर्षको प्रर्दशन इरानमा भएका ठूला प्रदर्शन थिए । सबैमा इरानले दमन गरेको थियो । अमेरिकी र इजरायली आडमा प्रदर्शन भएको भन्दै इरानी सरकारले दबाएको थियो ।खामेनेईलाई अमेरिका र इजरायलले सैन्य हमलाबाट मार्दा इरान र विश्वभर देखाइएको खुसियाली मनाउनेका लागि खामेनेई खलनायक हुन् । तर, उनलाई अमेरिकी र इजरायली दादागिरीमा चट्टानी अडान लिएको भन्दै इरान र विश्वभरबाट तारिफ गर्नेका लागि उनी नायक हुन् ।