Bagmati Samachar Logo

रञ्जित तामाङले ओलीलाई भने–तपाईं जित्नु हुन्न, हामीलाई सहयोग गर्नुहोस्

काठमाडौं । आसन्न चुनावमा नेपाली कम्युनिस्ट पार्टीबाट झापा क्षेत्र नं. ५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष केपी ओलीले आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् । शनिबार पत्रकार सम्मेलन आयोजना गरी तामाङले सो आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा ओलीलाई तामाङले भने, ‘जोसुकैले सहयोग गरे पनि तपाईंले चुनाव जित्नुहुन्न । त्यसैले वाम आन्दोलनको रक्षाका लागि तपाईंले हामीलाई सहयोग गर्नुपर्छ ।’

उनले नेकपालाई सहयोग गरेर वाम आन्दोलनको पक्षमा उभिन ओलीलाई सुझाव दिए ।

नेकपा झापा क्षेत्र नं. ५ मुल निर्वाचन परिचालन समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा तामाङले आफ्नो पक्षमा दिनप्रतिदिन उत्साह, ऊर्जा र विजयको माहोल बढिरहँदा पराजित मानसिकता बोकेका विभिन्न शक्तिहरूले गठबन्धनको नाममा फैलाएका तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति आपत्ति जनाए ।

यसैगरी तामाङले ओली र वालेन समूहले आचारसंहिता उल्लंघन गरेकोमा आपत्ति प्रकट गरे । उनले भने, ‘निर्वाचन परिणामलाई प्रभावित गर्ने मनशायले सत्ता र शक्तिको आडमा बजेट, योजना र अनेक प्रलोभनका पोका छरेर गरिएका सबैखाले आचारसंहिता विरोधी हर्कतको निन्दा र भर्त्सना गर्दै त्यसखालका क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दछौँ ।’

तामाङले रास्वपा सभापति र वरिष्ठ नेताद्वारा अमुक देशका प्रधानमन्त्रीलाई सहयोगको याचना गरिएको भनिएका खबर स्वयं रवि लामिछाने र बालेन्द्र शाहले खण्डन गर्नुपर्न बताए । लामिछाने र शाहप्रति लक्षित गर्दै उनले भने, ‘अमुक देशका प्रधानमन्त्रीलाई सहयोगको याचना गरिएको भनिएका खबरहरू आइरहँदा त्यही तहबाट प्रभावकारी खण्डन नहुनु रहस्यमय छ ।’

पत्रकार सम्मेलनमा तामाङले चुनाव बिथोल्न कसैले लाग्न नहुने बताए । तामाङले भने, ‘रिपोर्टिङको शिलशिलामा झापा ५ अन्तर्गत कमल गाउँपालिकामा पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमाले निकट नेसनल भोलिन्टियर्स फोर्सका कार्यकर्ताबाट गरिएको सांघातिक हमलाको घोर भर्त्सना गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दछौँ ।’

पत्रकार सम्मेलनमा नेकपा झापा(५ का चुनावी कमाण्डर सुरेन्द्र बस्नेतले ओली र बालेन दुवैले ब्यापक आचारसंहिता उल्लंघन गरेर मुठभेड निम्त्याउन खोजेको बताए । बस्नेतले भने, ‘स्वच्छ, मर्यादित र शान्तिपूर्ण निर्वाचन बिथोल्ने हर्कत अविलम्ब बन्द गर्न सम्बन्धित सबैमा अपिल गर्दछु ।’