Bagmati Samachar Logo

बाह्य हस्तक्षेपकारी गतिविधि भइरहेका छन् : नेकपा

नेपाली कम्युनिस्ट पार्टीले अहिले देशमा बाह्य हस्तक्षेपकारी गतिविधि बढी रहेको बताएको छ ।
नेकपाले एक अपिल जारी गर्दै जुन खालका बाह्य हस्तक्षेपकारी गतिविधि भएका छन् त्यसबाट इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधीनमा नरहेको हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको बताएको छ । उसले भनेको छ,‘ नेपाल कम्युनिष्ट पार्टी आफ्नो स्थापना कालदेखि नै नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । आज पनि हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गर्दछौँ ।’

अहिले मुलुकमा संघीयता र समानुपातिक एवं समावेशी सहभागिताजस्ता मूलक विशेषतासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेका पनि नेकपाले अपिलमा बताएको छ । उसले भनेकोछ ,‘ हामी यस प्रणाली विरुद्धका सबै षड्यन्त्रहरुलाई परास्त गर्दै यसलाई सुदृढ र सुमधुर बनाउँदै समाजवादी लोकतन्त्रको रुपमा विकास गर्न चाहन्छौँ ।’

नेकपाले संविधान जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संसारका उत्कृष्ट संविधानमध्ये एक भएको र नेपाली जनताले लामो समयसम्म अनेक प्रकारका बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताएको छ ।

उसले भनेको छ, ‘संविधान जनताले सङ्घर्ष गरेर प्राप्त गरेका अधिकारहरूको दस्तावेज हो । यसलाई खारेज गर्ने अधिकार कसैलाई पनि छैन । तथापि यो अपरिवर्तनीय दस्तावेज भने होइन । यसको कार्यान्वयन गर्दा देखापरेका समस्या समाधान गर्नका निम्ति यसमा आवश्यक परिमार्जन गर्न सकिन्छ, गर्नुपर्छ ।’
नेकपाले संविधान कार्यान्वयनको गम्भीर समीक्षा एवं पुनरावलोकन गरेर त्यसबाट निस्किएका निष्कर्षका आधारमा शासकीय स्वरूपलगायत विभिन्न पक्षमा परिमार्जन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको पनि बताएको छ ।

उसले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, जटिल र कुनै एक दलले बहुमत ल्याउन नसक्ने खालको भएकाले गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको पनि बताएको छ । उसले आफूले अहिलेको निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउन चाहेको र त्यसमा प्रतिबद्ध रहेको दाबी गरेको छ ।

नेकपाले अहिले जनताले सुशासन र पारदर्शिता अनुभूति नगरेको बताएको छ । उसले भनेको छ, ‘भ्रष्टाचार, कमिसनखोरी, अपारदर्शिता र ढिलासुस्ती क्यान्सर जस्तै फैलिरहेको छ । संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान भएको छैन । हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ । भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गहरूको सञ्चालन र संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो दृढप्रतिज्ञा हो ।’
प्रतिबद्धतापत्रमा भनेजस्तै अपिलमा पनि नेकपाले एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने बताएको छ ।