Bagmati Samachar Logo

२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्– अब सहयोग रोक्नुस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि २४ घण्टामै करिब डेढ करोड रुपैयाँ संकलन भएको छ ।

अब आफ्नो उपचारका लागि रकम पर्याप्त पुग्ने भन्दै साम्बाले आर्थिक सहयोग रोक्न अपिल गरेकी छन् ।

ुमेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ(संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छु, साम्बाले भनेकी छन्, कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।

साम्बाले आफ्नो उपचार सफल हुने र चाँडै मैदानमा फर्किने आशा पनि व्यक्त गरेकी छन् । साम्बाले सोमबार आफ्नो उपचारका लागि आर्थिक अभाव भएको जनाउँदै सहयोगको अपिल गरेकी थिइन् । उनलाई देश तथा विदेशबाट सहयोगको थुप्रो लागेको हो ।

यस्तो छ साम्बाको भनाई

आदरणीय समर्थकहरू,
आज ,धन्यवादु शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।

खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।

मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ(संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।

म आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु ।

यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ ।

म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।

मेरो तर्फबाट “धन्यवाद” मात्र पर्याप्त हुँदैन । तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ । फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ ।
चाँडै मैदानमा भेटौंला ।