Bagmati Samachar Logo

४ महिनामा ४ पार्टी चहारेर अन्तः मनराज एमाले प्रवेश

काठमाडौं । सुरुमा नेकपा माओवादीको नेता रहेका मनराज गुरुङले पछिल्लो चार महिनामा चार पार्टी बदलेका छन् । मङ्सिर दोस्रो सातासम्म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेता रहेका गुरुङ माओवादी र नेकपा एस लगायतका पार्टीको एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो । उनी नाम र पार्टीको विचार प्रति असन्तुष्ट हुँदै मौन रहे । पछि उनले नेकपा माओवादीबाट राजिनामा दिए । त्यसपछि उनी प्रगतिशिल लोकतान्त्रीक पार्टीमा समावेश भए ।

मङ्सिर अन्तिम सातामै उनी उज्यालो नेपाल पार्टी प्रवेश गरे । कुलमान घिसिङको काम देखेर प्रभावित बनेको भन्दै उज्यालो छिरेका उनी कुलमानसँगै रास्वपामा समाहित पनि भए ।

झण्डै महिना दिन उनीहरूले उज्यालोको गतिविधि ठप्प पारे । कुलमानको भाग मिलेन, उनी रास्वपाबाट अलग भए । मनराज पनि सँगै लागे । वैकल्पिक शक्तिहरू मिल्न नसके पुरानै दलहरूले निर्वाचन जित्न सक्ने वक्तव्य दिँदै आएका उनले उज्यालोबाट छुट्टै उम्मेदवारी दिए ।

तर, तनहुँ –२ मा उम्मेदवार रहेका मनराजको मनोनयन हप्ता दिन पनि टिकेन । केन्द्रीय नेतृत्वसँग सल्लाह नै नगरी मनराजले रास्वपालाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिए ।

रास्वपाले आयोजना गरेका केही कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी भएका उनी फेरि केही दिन चुपचाप बसे । धेरैले उनी नेपाली कांग्रेस प्रवेश गर्न लागेको आँकलन गरिरहेका थिए । तर, आइतबार केन्द्रीय सचिव खगराज अधिकारीलाई साक्षी राखेर उनी नेकपा एमाले प्रवेश गरेका छन् ।