कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीका ८ आकर्षक कार्यक्रम, होलान त कार्यन्वयन
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आइतबार चुनावी घोषणपत्र सार्वजनिक गरेको छ । उनी नेपाल विद्युत प्राधिकरणको दुईपटक कार्यकारी निर्देशक बनेका थिए । जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको नागरिक सरकारको ऊर्जामन्त्री समेत बने । तर चुनावको पूर्वसन्ध्यामा पार्टी खोलेर अरुलाई जिम्मा दिएपछि अन्तः उनी चुनावी मैदानमा मात्र होमिएनन् पार्टीको नेतृत्व पनि गरिरहेका छन् । घिसिङको पार्टीले घोषणापत्रमा केहि महत्वपूर्ण कुराहरु समेटीएका छन् ।
यस्ता छन् ८ वटा आकर्षक कार्यक्रममहरू
१. प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, दलविहिन स्थानीय चुनाव
उज्यालो नेपाल पार्टीले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र दलविहिन स्थानीय चुनावको पक्षमा लागेर व्यवहारिक कुरा गरेको छ । प्रदेशमा मुख्यमन्त्रीलाई जनतासँग लान यो राम्रो विकल्प हुन सक्छ । प्रदेश संरचना पनि बाँच्ने र मुख्यमन्त्री पनि देखिने सुनिने हुन यो विकल्प बढी व्यवहारिक लाग्छ। राज्य संचालनको तीन तह स्थानीय तह, प्रदेश र संघमा दुई तहको प्रमुख मात्रै अप्रत्यक्ष चुनीने हो । अर्थात् स्थानीय तहको प्रमुख प्रत्यक्ष चुनिन्छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षधरलाई धामथुम पार्न र मुख्यमन्त्री बलियो बनाउन यो व्यवहारिक कार्यक्रम संविधान संसोधन गरेर ल्याउन सकिने कुरा घिसिङ नेतृत्वको पार्टीले उठाएको छ । नेपालको पहिलो स्थानीय निर्वाचन २००४ सालमा भएको थियो । त्यो स्वतन्त्रको थियो । अब पनि स्थानीय निर्वाचन स्वतन्त्र वा दलविहिन रुपमा गर्न सकिन्छ । यसले देशको दलियकरण हुनबाट जोगाउँछ । संघका सांसद २७५ बाट २०१ र सातै प्रदेशका ५५० सांसदबाट ३३० मा झार्ने कुरा कुरा पनि जनचासो अनुसार व्यवहारिकनै लाग्छ । यद्यपि, यसका लागि निर्वाचनपछि संसदीय सहमति आवश्यक छ ।
२. भ्रष्टाचार सूचनादाता पुरस्कार
भ्रष्टाचार भएको जानकारी दिने सुचकलाई अदालतबाट प्रमाणित भएको जरिवानाको ५ प्रतिसत दिने कुरा घिसिङ नेतृत्वको पार्टीले उठाएको छ । यो पनि व्यवहारिकत सम्भव नै देखिन्छ । ५ प्रतिशत कमिसनको लोभमा सूचना दिनेहरू यत्रतत्र हुने डरले भ्रष्टाचारीहरु त्रसित हुने र भ्रष्टाचार निरुत्साहित हुने सम्भावना देखिन्छ ।
३.जलविद्युतको लगानीमा प्रत्येक घर र श्रमिकलाई जोड्ने योजना
जलस्रोतको लगानीमा हरेक घर परिवारलाई जोड्ने योजना अनुसार घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले एक घर एक हजार कित्ता शेयरको नीति अघि सारेको छ । जुन लगानी र नागरिक सहभागिताका हिसाबले बढी व्यवहारिक देखिन्छ । यस्तै, जलविद्युत् बनाउन खटिएका श्रमजीविलाई पनि शेयर दिने कुरा झन व्यवहारिक र आकर्षक कार्यक्रम हो । गरिबले शेयर किन्न नसकेमा ऋण दिने कुरा झनै राम्रो छ । जलस्रोतमा स्वदेशी लगानी र स्वामित्व बढाउन यो आकर्षक छ । यसो भएमा जलविद्युतलाई तनाव दिने तत्वलाई नागरिक आफैंले तह लगाउने माहोल बन्न सक्छ ।
४. प्लस टू शिक्षा ः व्यवसायिक र पेड इन्टर्नशिप कार्यक्रम
१२ कक्षा पढ्नेलाई ५० प्रतिशत शिक्षा कार्यक्रमलाई व्यवशायिक शिक्षासँग जोडेर सरकारी तथा नीजि क्षेत्रमा इन्र्टनशिल गरेर मासिक १० हजार प्रोत्साहन रकम दिने कुरा घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले उठाएको छ । यो व्यवहारिक देखिन्छ । यसले श्रमबजार र विश्वविद्यालयलाई प्लस टूबाटै जोड्न सहयोग गर्ने देखिन्छ ।
५. कृषि विद्युत्
खेतीपाती, माछा पालन, पशुपालन, चिया तथा च्याउ उत्पादक जस्ता कृषि क्षेत्रमा लाग्ने विद्युत्मा सहुलियत दिने कुरा व्यवहारिक छ । देशभरमा बिजुलीमा होलसेल सहुलियत दिनुभन्दा यो खालको सहुलियतको अर्थ अझ बढी व्यवहारिक देखिन्छ ।
६.जलमार्ग
गण्डकी, कोशी र कर्णालीमा जलमार्ग बनाउने कुरा व्यवहारिक छ । अहिले कोसी नदीको दलमार्गबाट भोजपुर पुग्नेहरू छन् । देशभरका ठूला बहाब भएका नदीलाई आवश्यक पुर्वाधार तयारी गरेर जलमार्ग बनाउन सकिन्छ । जलमार्गको करिडोरमा सडक चलेजस्तै जलमार्ग पनि चल्ने व्यवहारिता देखिन्छ ।
७. बुटिक विमानस्थल
नेपाल अरनिको जस्ता कलाकारको देश हो । तर त्यो कलाकारिता नेपालको हवाई गेट वे अर्थात् अन्तराष्ट्रिय विमानस्थलमा देखिँदैन । विश्वका धेरै देशले आफ्नो कला–संस्कृतिलाई विमानस्थलमा देखाउँछन् । विमानस्थलको भौतिक संरचना बनाउने इन्जिनियरिङमा कला भर्छन् । त्यस्तै सोचाइले १० बुटिक विमानस्थल देशभरमा बनाउने कुरा व्यवहारिक छ । देशका तीन अन्तराष्ट्रिय विमानस्थलमा काठमाडौंलाई मल्ला वा लिच्छबी कला, पोखरालाई गुरुङ कला, गौतम बुद्ध विमानस्थललाई बुद्धकालीन नेपाली कला प्रयोग गरेर बुटिक विमानस्थल बनाउन सकिन्छ ।
अरु सातवटा विमानस्थलमा लुक्लालाई शेर्पा वा किरात कला, तुम्लिङटान विमानस्थललाई लिम्बु कला, चितवनलाई थारु कला, धनगडिलाई खस सभ्यताको कला आदि प्रयोग गरेर देशभरका पर्यटन क्षेत्रमा भएका विमानस्थललाई बुटिक विमानस्थल बनाउन सम्भव देखिन्छ ।
यस्तै सन् १९३५ सम्म ३५ लाख पर्यटक ल्याउने उज्यालो नेपाल पार्टीको कुरा पनि व्यवहारिक देखिन्छ । तीन अन्तराष्ट्रिय विमानस्थल भएको र नेपालमा तीस लाखबढी पर्यटक अटाउने होटल, रिसोर्ट तथा होमस्टे अहिले पनि विद्यमान भएकोले त्यो व्यवहारिक देखिन्छ।
८. विकास छाता ऐन
तीव्र गतिमा गर्नुपर्ने काठमाडौं तराई दू्रतमार्ग होस् वा अरु त्यस्तै योजनामा धेरै कुराले बाधा गरेका छन् । यसलाई अन्त्य गर्न विकास छाता ऐन ल्याउने उज्यालो नेपाल पार्टीको कुरा व्यवहारिक देखिन्छ । यसले प्रत्यक्ष वैदेशिक लगानी ल्याउनदेखि नेपालमा द्रुत विकासका योजना अगाडि बढाउन सहयोग गर्छ । एउटा रुख काट्न, बिजुलीको पोल सार्न महिनौँ लाग्ने झन्झटको अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: