हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्छ भन्दै दुई चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्विकार नगर्ने बताएका छन्। उनले भने, ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ। यो कुनै हालतमा पनि स्विकार्य हुदैन । पोहोर हिउँभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ। अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुदैन भन्ने कुरा ?’
काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार–प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्।
पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना बुधबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान भनेका हुन्।
‘तपाईंहरू विभिन्न पेशा–व्यवशाय गर्न काठमाडौं आउनुभएको छ। अहिले निर्वाचनको माहोल छ,’ ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस। पार्टीको पक्षमा माहोल बनाउनुहोस। आफन्त भेट्नुहोस। साथीभाइसँग बस्नुहोस्। पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस।’
अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए। ‘निर्वाचनको तयारी निष्पक्ष, मतदानबिना डर त्रास र प्रलोभनमा हुनुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिले नदेख्ने हुनुहँदैन। त्यसमा सबै चनाखो हुनुहोस।’
अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने बताउँदै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्: