Bagmati Samachar Logo

कसैसँग गठबन्धन गर्दैनौं, पहिलो पार्टी बन्छौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कसैसँग गठबन्धन नगर्ने बताएका छन् । उनले नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

प्रचण्डले यो चुनावबाट नेकपा सबैभन्दा धेरै सिट जितेर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यलेका अनुसार प्रचण्डले आज देशभरीमा चुनावको माहोल नेकपाको पक्षमा बनेको र त्यहि अनुसार पहिलो पार्टी बन्ने दाबी गरेका थिए । ती सदस्यले भने, ‘संयोजक प्रचण्डले प्रष्ट रुपमा जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग हाम्रो गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्छौं र पहिलो पार्टी बन्छौं भन्नु भएको छ ।’

अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको जिकीर गरेका थिए ।
साथै उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन उनले निर्देशन दिए ।

सहसंयोजक माधव कुमार नेपालले पनि बैठकलाई सम्बोधन गर्दै विभिन्न दल र नेताहरुसँग छलफल भए पनि आफूहरु एक्लै निर्वाचन लड्ने बताएका थिए । ‘राजनीतिमा छलफल सम्वाद हुनसक्छन् तर हामी एक्लै उत्साहका साथ चुनाव लडेर जित्ने छौं’ नेपालले भनेका थिए ।
जुम बैठक आज बिहान ८ बजेदेखि करिब एक घण्टासम्म चलेको थियो । बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरु सहभागी थिए ।