Bagmati Samachar Logo

राष्ट्रिय सभामा लुम्बिनीबाट झाँक्री, केसी र घिमिरे निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका भएका छन् । तीन पदका लागि आइतबार भएको निर्वाचनमा महिलातर्फ रामकुमारी झाँक्री, खुलातर्फ चन्द्रबहादुर केसी र अपांगतार्फ बाशुदेव घिमिरे ९जंगली० निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।

केहिअघि सम्पन्न भएको मतगणना अनुसार एमालेकी झाक्रीले ६ हजार ३३० मतभार पाइन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन् । खुलातर्फ कांग्रेसका चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए । नेकपाका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए । यस्तै अपांगतातर्फ कांगेसकै घिमिरे ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी भए । नेकपाका सर्जन विकले १ हजार ६०१ मतभार ल्याए ।

लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २ सय १७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय जना मतदाता रहेकोमा २८६ जनाले मतदान गरेका थिए । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।