Bagmati Samachar Logo

बालेनलाई चुनाव प्रचारमा करोडौँको डिफेन्डर गाडी दिने मालपानी को हुन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चढेको गाडी यतिबेला चर्चामा छ । चुनावको प्रचारप्रसारका लागि झापा क्षेत्र नम्बर ५ मा पुगेका बालेनले चढेको गाडीको चर्चा चलेको छ । बालेनले बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर गाडी चडेर चुनावको प्रचार प्रसार गरेपछि बालेनसँगै गाडी र गाडी धनीको चर्चा चलेको छ ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालेन चुनावी प्रतिस्पर्धामा गर्न काठमाडौंबाट झापा पुगेका छन् ।

बालेन चढेको गाडीको नेपाली मूल्य ४ करोड २९ रुपैयाँ पर्छ । यो गाडी जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन गर्छ । नेपालमा डिफेन्डरको बिक्री वितरण गर्दैआएको कम्पनी कायरोस इन्टरनेसनल प्रालिले भने गाडीको वास्तविक बिक्री मूल्य ४ करोड २९ लाख रहेको बताएको छ । हालसम्म नेपालमा डिफेन्डरका चार गाडी आयात भएको छ । जसमध्ये तीनवटा बिक्री भइसकेको र एउटा स्टकमा रहेको कम्पनीले जानकारी दिएको छ । नेपालमा उक्त गाडीको माग धेरै नभएकाले अर्डर पछि मात्र नेपाल ल्याउने गरेको नेपाल विक्रेता कायरोस इन्टरनेसनल प्रालिले बताएको छ ।

काठमाडौं महानगरको मेयर पद छोडेर चुनावी मैदानमा उत्रिँदै गरेका बालेनले यति महंगो गाडी कसरी चढे ? यति महंगो गाडी चुनाव प्रचारप्रसारका लागि उनलाई कसले उपलब्ध गरायो ? यी प्रश्न सर्व चर्चामा छन् ।

बालेनले चढेको ल्यान्ड रोभर डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रा.लि.को नाममा दर्ता भएको खुलेको छ । जुन कम्पनीका मालिक विवादीत कमलकिशोर मालपानी हुन् ।

को हुन् मालपानी ?

व्यावसायीक पृष्ठभूमिका मालपानीको लगानी सुर्तीजन्य वस्तु उत्पादन कम्पनी श्रीराम टोबाको कम्पनीदेखि पछिल्लो समय लोकप्रिय तयारी चाउचाउ करेन्टसम्म छ । बुटवल र रुपन्देही क्षेत्रमा पाँचतारे होटल ‘सफ्रोन सीके’ तथा अन्य उद्यमहरूमा समेत मालपानीको लगानी रहेको पाइएको छ ।

सफल उद्योगीको रूपमा स्थापित मालपानी केही वर्षअघि मात्र मानपदवी जनसेवाश्री पदकबाट समेत सम्मानित भएका थिए । तथापि, उनीविरुद्ध २०७६ मा कर छली तथा झुट्टा (नक्कली भ्याट)को कारोबारमा संलग्न भएको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको भेटिएको छ ।

विभागका अनुसार गत पुस २०७६ मा बुटवल नगरपालिका वडा नं. १२ स्थित श्रीराम टोबाको उद्योग प्रा.लि.का सञ्चालक मालपानीसहित सात जना सञ्चालकहरूविरुद्ध मुद्दा दायर भएको थियो । राजस्व चुहावट अभियोगमा तत्कालीन समयमा विभागले श्रीराम टोबाको उद्योगविरुद्ध १० करोड ७३ लाख बिगो दाबी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, यस मुद्दाको किनारा हालसम्म लागे वा नलागेको विभागले जानकारी दिएको छैन ।

तर, चुनावी प्रचारप्रसारका लागि चर्चित अनुहार बालेनलाई आफ्नै महंगो गाडी दिएपछि मालपानी फेरि एकपटक चर्चामा आएका छन् ।