Bagmati Samachar Logo

प्रचण्डसँग तारा चुनाव चिन्ह मागेका बाबुरामले नपाएपछि लिए उम्मेदवारी फिर्ता

काठमाडाैं । बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा नपाएपछि उम्मेदवारी फिर्ता लिएका छन् ।

बाबुरामले गोरखा २ मा उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालबाट घोषणा गरेका छन् । विभिन्नपक्षबाट माग भएकोले आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताए ।

फेसबुक लाइभमा आएर उनले भने, ‘आगामी दिनमा निरन्तर जनताको सेवामा लागिरहनेछु ।’

जबकी आज बिहान मात्र बाबुराम कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ललितपुर पुगेका थिए । भेटमा उनले तारा चुनाव चिन्ह मागेका थिए ।

गोरखा २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्न उम्मेदवारी दर्ता गराएका बाबुरामले शुक्रबार अन्तिम समयमा पनि प्रचण्डलाई भेटेर नेकपाका उम्मेदवार लेखनाथा न्यौपानेको उम्मेदवारी फिर्ता र तारा चुनाव चिन्ह मागेका थिए । तर प्रचण्डले तारा चुनाव चिन्ह नदिएपछि उम्मेदवारी नै फिर्ता लिएका छन् ।

प्रचण्डले पनि भट्टराईलाई आफ्नो पार्टीको उम्मेदवार लेखनाथ न्यौपानेलाई फिर्ता गर्न नसक्ने जवाफ दिएका थिए । न्यौपानेले उम्मेदवारी फिर्ता लिने अवस्था नआएपछि बाुबरामले नै उम्मेदवारी फिर्ता लिएका छन् ।

स्रोतले भट्राइको भनाइ भन्दै भने,‘लेखनाथलाई उम्मेदवारी फिर्ता गराउनु पर्यो । म तारा चुनाव चिन्हमा चुनाव लड्छु । मैले पछि के गर्नु पर्छ गर्छु भन्नु भएछ । तर प्रचण्डले तत्काल सम्भव नभएको जवाफ दिनु भयो ।’

उम्मेदवारी फिर्ता लिन बाबुरामले गोरखा २ का नेकपाका उम्मेदवार लेखनाथ न्यौपनेलाई पनि आग्रह गरेका थिए । न्यौपानेले पनि ठाडै अवस्वीकार गरेपछि बाबुराम आफै पछाडि फर्केका छन् ।

उम्मेदवारी फिर्ता लिइदिनु पर्यो मिलेर जाउँ भन्ने प्रस्ताव बाबुराम दाईले राखेको न्यौपानेले बताए । उनले भने, ‘उहाँ आज बिहान संयोजकलाई भेट्न जानु भएछ । त्यहिबाट निस्केपछि मलाई फोन गर्नु भएको थियो । मैले सम्भव छैन भनिदिए । सिंगो पार्टी उम्मेदवारी फिर्ता लिने पक्षमा छैन ।’

जब कि बाबुरामले पार्टीको नेतृत्वमा नबस्ने भन्दै गत असोजमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष पद त्याग गरेका थिए । भट्टराईले पार्टी नेतृत्व छोडेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरेको भन्दै दुर्गा सोबलाई अध्यक्ष दिएका थिए ।

नेपालको राजनीति इतिहासमा सोब दलित समुदायबाट अध्यक्ष बन्ने सम्भवतः पहिलो नेता बनेकी थिइन् ।

बाबुरामले अध्यक्ष पदमात्र छोडेका थिएनन् सक्रिय राजनीति नै नगर्ने घोषणा गरेका थिए ।

त्यहि भएर यो निर्वाचनबाट उम्मेदवार नहुने पूर्वप्रधानमन्त्रीमा उनको चर्चा थियो । तर उम्मेदवारी दर्ता गर्नु भन्दा एक दिन पहिला बाबुरामले उम्मेदवारी दिने घोषणा गरेपछि आलोचना सुरु भएको थियो ।

अन्तः बाबुरामले ६ गते गोरखा २ बाट उम्मेदवारी दर्ता गराएर चुनावी अभिायन सुरु गरेका थिए । हिजो बाबुरामले न्यौपानेलाई आफूलाई सहयोग गर्न प्रस्ताव राखेको न्यौपाने बताउछन् । उनले भने,‘मिलेर जाउँ मलाई सहयोग गर्नु होस् लिखित सम्झौता गरौँ महिले के सहयोग गर्नु पर्छ तयार छु भन्नु भयो । मैले तपाईलाई उम्मेदवारी दिनु भन्दा पहिला नै सोधेको हुँ । तपाईले नै उम्मेदवार हुनु म सहयोग गर्छु भन्नु भएको होइन ? भनेर सम्झाए । गल्ती भयो । संविधानको रक्षा गर्नु पर्ने अवस्था आयो भन्नु भयो । तर मैले धेरै अगाडि बढी सक्यो अब पछाडि पर्कदैन भने ।’

बाबुराम, नारायणकाजी र प्रचण्डसँग सरसल्लाह गरेर नै चुनावमा होमिएको न्यौपाने बताउछन् । उनले भने,‘मैले बाबुराम दाईसँग सरसल्लाह गरे । उहाँले नै म चुनाव लड्दै तपाई नै हो मेरो उम्मेदवार भन्नु भयो । नारायणकाजी दाईले पनि म गोरखाबाट लड्दैन तपाई हो भन्नु भयो । प्रचण्डले पनि तपाई हो यो पटक गोरखामा भन्नु भयो । अनि म चुनावमा होमिएको हुँ । अहिले फिर्ता लिन पर्यो भनेर हुँदैन । कुरा धेरै अगाडि पुगि सक्यो ।’

नेकपाको बाहुल्यता भएको गोरखामा घर दैलो गरेपछि बाबुराम प्रचण्डसँग चुनाव चिन्ह माग्न गएको नेकपाका नेताहरु बताउछन् ।
आफू जित्दै आएको गोरखा २ अघिल्लो निर्वाचनमा बाबुरामले प्रचण्डका लागि छोडिदिएका थिए । बाबुरामले चुनाव नलडेर प्रचण्डलाई सहयोग गरेका थिए ।

यसपटक भने सुरुमा बाबुरामले नयाँ नेतालाई समर्थन गर्ने भन्दै आफूले चुनाव नलड्ने घोषणा गरेका थिए ।
राजनीतिमा वैकल्पिक धार र पुस्तान्तरणको कुरा उठाउदै आएका बाबुरामले अहिले युवा लेखनाथ न्यौपानेलाई उम्मेदवारी फिर्ता गरिदिन पर्यो भन्न थालेका छन् ।