Bagmati Samachar Logo

नेकपाका उम्मेदवार : हेवीवेट,जनमत भएकादेखि नयाँ अनुहारसम्म

काठमाडौं । आउदो २१ फागुनमा हुन थालेको निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टीले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

नेकपाले उम्मेदवारी दर्ताको दिन नै दुई ठाउँमा कांग्रेस र एमालेबाट लोकप्रिय व्यक्तिलाई पार्टीमा प्रवेश गराएर टिकट दिएको छ ।

ओखलढुङगामा एमालेबाट टिकट नपाएका जिल्लाका प्रभावशाली नेता अम्बिरबाबु गुरुङलाई नेकपाले टिकट दिएको छ ।
गुरुङले एमालेले टिकट वितरणमा पक्षपात गरेको भन्दै पार्टी परित्याग गरेका थिए ।

उनले २०७४ मा ओखलढुंगाबाट प्रदेशसभा जितेका थिए । कोशी प्रदेशमा भौतिक पूर्वाधार राज्यमन्त्री समेत भएका थिए ।
उनको जनमतलाई ध्यानमा राखेर निर्वाचन जित्ने रणनीति प्रचण्डले अपनाएका छन् ।

अछाम क्षेत्र नं २ मा शरदसिंह भण्डारीले टिकट पाएका थिए । तर उनले अन्तिम समयमा नेपाली कांग्रेसबाट विद्रोह गरेका बलबहादुर कुँवरलाई टिकट दिएको छ । नेकपाका केन्द्रीय सदस्य भण्डारीले आफैले कांग्रेसबाट नेकपा प्रवेश गराएर आफ्नो टिकट उनलाई दिएको बताए । उनले भने,‘उहाँ कांग्रेसको प्रभावशाली नेता हुनुहुन्छ । मैले नै नेकपामा प्रवेश गराएर मैले पाएको टिकट उहाँलाई दिएको हुँ । नेकपामाको जित शुनिश्चित गरेको छ ।’

युवा र अवसर नपाएकालाई प्राथमिकता
नेकपाले यो पटक युवाहरुलाई पनि अवसर दिएको छ ।

गोरखाबाट लेखनाथ न्यौपाने पहीलोपटक निर्वाचनमा उम्मेदवार बनेका छन् । गोरखा नेकपाको प्रभाव क्षेत्र पनि हो । उनी अनेरास्ववीयु क्रान्तिको अध्यक्ष भएका थिए । न्यौपाने विद्यार्थी राजनीतिमा चर्चित अनुहार हो ।

झापा क्षेत्र नंं ५ बाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ उम्मेदवार बनेका छन् ।
पूर्वमाओवादीको झापा जिल्ला समितिको इन्चार्ज हुन् । उनी पनि अहिलेसम्म लाभको पदमा नगएका युवा नेतामा पर्छन् ।

झापा क्षेत्र नं. १ बाट युवा नेता अशेष घिमिरे सिफारिस भएका छन् । नेपाली कम्युनिस्ट पार्टीभित्र अध्ययनशील नेता मानिन्छन् । उनलाई टिकट दिएर एकतामा युवाहरुले अवसर पाएको सन्देश दिएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा वाईसीएल नेपालको इन्चार्ज रामप्रसाद सापकोटाले पनि भक्तपुर २ बाट पहिलो पटक उम्मेदवारी दिएका छन् । उनी वाईसीएलका पूर्वअध्यक्ष पनि हुन् । नेकपामा अहिलेसम्म कुनै अवसर नपाएका युवानेतामा पर्छन् ।

मकवानपुर क्षेत्र नं. १ बाट क्रान्तिकारीका पूर्वउपाध्यक्ष विजय गौतमले उम्मेदवारी दर्ता गराएका छन् । उनी मकवानपुरका पूर्वमाओवादीका जिल्ला इन्चार्ज छन् । उनीपनि अध्ययनशील र वैचारिक नेतामा पर्छन् । उनलाई टिकट दिएर पनि पार्टी भित्रको सन्तुलन मिलाएको छ ।

नेकपाका युवा नेता नितेश पौडेल काठमाडौं २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

पर्वतबाट पनि युवा नेता मनहरी तिमिल्सेनाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले निर्वाचन जितेको पर्वतमा युवालाई टिकट दिएर नेकपाले युवा प्रति विश्वास र भरोसा गरेको सन्देश दिन चाहेको छ ।

विश्वदीप पाण्डे रुपन्देही २ बाट उम्मेदवार बनेका छन् । उनी पनि नेकपा भित्रको युवा नेतामा पर्छन् । उनले लामो समय पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयमा काम गरेका थिए ।

बाँके १ बाट नरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् । उनी अहिलेसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार नबनेका युवामा पर्छन् ।

क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले सल्यानबाट उम्मेदवार दर्ता गराएका छन् । क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएका थिए । उनले पछिल्लो समयमा प्रचण्डको सचिवालयमा पनि काम गरेका थिए ।

मल्लले अन्तिमसम्म प्रयास गरेर आफू भन्दा ठूई जना सिनियर नेता प्रकाश ज्वाला र टेकबहादुर बस्नेतलाई अभिभावकीय भूमिका निभाउने गरी मनाएका छन् ।

आफू पनि देशभरी निर्वाचनमा जानु पर्ने भएकाले आधार क्षेत्रमा आएर उम्मेदवारी दिएको प्रचण्डले बताएका छन् ।

१० जना महिला उम्मेदवार

नेकपाले काठमाडौं १० बाट रुपा महर्जनलाई अन्तिम समयमा टिकट दिएर उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि १० जना महिला उम्मेदवारलाई बनाएको छ ।

झापा क्षेत्र नंं. २ बाट केन्द्रीय सदस्य धर्मशिला चापागाईंलाई उम्मेदवार बनाएको छ । उनी योभन्दा पहिला पनि निर्वाचन लडेकी थिइन् ।

संखुवासभाबाट नेकपाले सरिता खड्का थापालाई उम्मेदवार बनाएको छ । उनी कोशी प्रदेशसभामा सांसद भइसकेकी छन् । सुनसरी क्षेत्र नं. २ बाट रामकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं १ बाट पनि नेकपाले मेनका भण्डारीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, काठमाडौं ५ बाट नेकपाले कल्पना शर्मालाई उम्मेदवार बनाएको छ । उनी नेकपाका नेता दीनानाथ शर्माकी छोरी हुन् ।
चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पनि चितवन ३ बाट नेकपाले उम्मेदवार बनाउँदै छ । उनले भरतपुरमा धेरै विकास गरेर चर्चामा आएकी मेयरमा पर्छिन् । ८ वर्ष मेयर भएर दाहालले धेरै विकास गरेको भन्दै स्थानीयले पनि उनको चर्चा गर्ने गरेका छन् ।

यशोदा सुवेदी मनाङबाट उम्मेदवार बनेकी छन् ।

कञ्चनपुर १ बाट प्रचण्डकी बुहारी बिना मगर उम्मेदवार बनेकी छन् ।
सिन्धु जलेसालाई नवलपारासी पश्चिम क्षेत्र नं. २ बाट उम्मेदवार बनाएको छ ।

सुनिश्चित भएका क्षेत्रमा प्रतिनिधिलाई उम्मेदवार

नेकपाले जोखिम पनि उठाएको छ । अघिल्लो निर्वाचनमा गठबन्धन गरेर जितेका प्रदेश सभाका सांसदहरुलाई पनि राजिनामा गराएर चुनावी मैदानमा उतारेको छ ।

लुम्बिनी प्रदेश सभाबाट नेकपाका दुई जना सांसदले राजीनमा गरेर चुनावी मैदानमा उत्रेका छन् । राजीनामा दिने प्रदेश सांसदहरूमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित धनबहादुर मास्की, बाँके निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित कृष्णा केसी, बर्दिया निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी उनी पनि नेकपाबाट उम्मेदवार बनेका छन् ।

सिन्धुपाल्चोक २ बाट युवराज दुलालले उम्मेदावरी दर्ता गराएका छन् । दुलाल पनि बागमती प्रदेश सभाका सांसद हुन् । उनले पनि प्रदेश सभामा राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचनमा होमिएका छन् ।

बागमती प्रदेश सभाका सांसद बसन्तप्रसाद मानन्धर पनि राजीनामा दिएर प्रतिनिधि काठमाडौं ७ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सूर्यबहादुर भट्टराईले पनि सुनसरी १ बाट उम्मेदवारी दिएका छन् । उनी धरान उपमहानगरपालिकाका वडा अध्यक्ष थिए । उनीपनि सुनसरीमा जनमत भएका नेतामा पर्छन् ।

खोटाङमा वामपन्थी बुद्धिजीवी हरि रोकालाई उम्मेदवार बनाएको छ । उनलाई तत्कालीन माओवादीले संविधान सभा सदस्य पनि बनाएको थियो । उनको जनमत खोटाङमा राम्रो भएकाले टिकट दिएको छ ।

असिम राई सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उम्मेवार बनेका छन् । जनमत भएका नेतामा पर्छन् । उनले पनि गाउँपालिकामा एक कार्यकाल पुरा गरेर दोस्रो कार्यकाल लाई बिट मारेर प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

नाराणकाजी श्रेष्ठले प्रतिनिधि सभा निर्वाचन लड्न नै राष्ट्रिय सभाबाट राजीनामा दिएका छन् । उनको कार्यकाल आउदा २० फागुनसम्म थियो । तर उनी सर्लाही ३ मा नेकपाको जनमत बढी भएकाले त्यो जनमतलाई सुरक्षित राख्न श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

जनमत भएका भरत साहले पनि मधेश प्रदेश सभाबाट राजीनामा दिएका छन् । महोत्तरीबाट उम्मेदवारी दिएका छन् ।

रेणु दाहालले भरतपुर महानगरको मेयरबाट राजीनामा दिएर चितवन ३ बाट उम्मेदवारी दिएकी छन् । उनले मेयरमा हुँदा गरेको कामका कारण चर्चामा छन् । उनको लोकप्रियताले प्रतिनिधि सभामा नेकपालाई फाइदा हुने अनुमान गरेका छन् ।

जनमत भएका सायमीसँग एकता

काठमाडौँमा जनमत भएका सामाजिक अभियन्ता सुमन सायमीसहितका नेताहरूलाई पार्टीमा ल्याए । उनलाई काठमाडौं क्षेत्र नं. ८ मा उम्मेदवार बनाएको छ । उपत्यकामा नेकपाको जनमत कमजोर छ । तर यो निर्वाचनमा सायमीलाई पार्टीमा ल्याएर नेकपाले आफूलाई काठमाडौंका स्थानीयको जनमत आफ्नो पक्षमा ल्याउने रणनीति अपनाएको छ ।

सायमी २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । सायमीले त्यसबेला १३ हजार ७ सय ७० जना ल्याएका थिए । उनी स्वतन्त्र अभियानमा सक्रिय रहदै आएका छन् ।