Bagmati Samachar Logo

प्रचण्डले भने–रोल्पाबाट सुरु गरेको यात्रा पूर्वीरुकुम बाट अन्तिम निर्वाचन हुन सक्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २४० वर्ष पुरानो राजतन्त्र फाल्ने निर्णय गरेको पूर्वीरुकुमको चुनवाङ बैठकले गरेको बताएका छन् ।
उनले भने, ‘रुकुमपूर्वको उम्मेदवार हुने अवसर मलाई प्राप्त भएको छ । म सांसद जित्नको लागि मात्रै रुकुम पूर्व आएको होइन । यो निर्वाचन मेरो लागि अन्तिम निर्वाचन पनि हुन सक्छ । तर जनयुद्धमा ऐतिहासिक भूमिका खेलेको जिल्ला हो ।’

उनले लावाङ बैठकले माओवादीको इतिहासमा एउटा महत्वपूर्ण बैठक भएको बताए । उनले लावाङ बैठकले पार्टीलाई शुद्धीकरण गर्ने, पार्टीलाई अझ क्रान्तिकारीकरण गर्ने कुरामा ऐतिहासिक भूमिका खेलेको बताएका छन्
प्रचण्डले जनयुद्धका दिनहरु झलझली सम्झी रहेको बताएका छन् । उनले आज उम्मेदवारी दर्ता पछि जनयुद्धको समयमा लावाङ बैठकले माओवादीलाई उचाइमा पुगाएको पनि बताए ।

प्रचण्डले आफू जहाँ गयो त्यहि पार्टीको हेडक्वाटर हुने भएकाले अब पार्टी हेडक्वाटर पूर्वीरुकुम भएको बताएका छन् । उनले भने,‘ म जहाँ गयो त्यहि पार्टी हेडक्वाटर हुन्छ । अब पार्टी हेडक्वाटर पूर्वीरुकुम भएको छ । यो आधार इलाका हो । म आफू पनि रुपान्तरण हुन यहाँ आएको छु । यहीबाट समाजवादी क्रान्तिको ढोका खोल्छु ।’

उनले निर्वाचनमा अरु क्षेत्रपनि जिताउनु पर्ने भएकाले आफूलाई देशभरी घुम्ने मौका पूर्वीरुकुमका जनताले दिनु पर्ने बताएका छन् । उनले भने,‘म यहाँका घर घरमा पुग्ने छु । पालिका, वडामा पुग्ने छु । शहिद परिवार घाइेतका घर घरमा पुग्ने छु । तर देशभरी घुम्ने समय पनि दिनु पर्छ ।’

उनले रोल्पाबाट सुरू भएको संसदीय यात्रा पाँच ठाउँमा पुगेको र अब सम्भवत अन्तिम हुनसक्ने बता । उनले भने, ‘यो आफैँमा एउटा रेकर्ड जस्तो बनेको छ । आधार इलाकाको रूपमा स्थापित रोल्पाबाट सुरु गरेर आधार इलाकाका पूर्वीरुकुममा आएर उम्मेदवार दिनु आफैँमा मेरो लागि गर्वको विषय भएको छ । यो अन्तिम निर्वाचन पनि हुनसक्छ ।’
प्रचण्डले आज पूर्वीरुकुमबाट २१ फागुनमा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।