Bagmati Samachar Logo

प्रधानमन्त्रीले आइतबारसम्मको समय माग्नुभयो, माग पूरा नभए आन्दोलनमा जान्छौं– प्रसाईं

काठमाडौं । दुर्गा प्रसाईं संयोजकत्वको नागरिक बचाऊ अभियानले अगाडि सारेका माग सम्बोधनका लागि प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्मको समय माग गरेकी छिन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार भएको वार्तामा कार्कीले आइतबार सहमतिमा हस्ताक्षर गर्न प्रस्ताव गरेकी प्रसाईंले जानकारी दिए । यद्यपि प्रसाईंका मागबारे कुनै सहमति भएको छैन ।

‘प्रधानमन्त्रीबाट आइतबारसम्म सहमति गरौं, त्यही दिन सम्झौता गरेर सोमबार मन्त्रिपरिषद्‌बाट अनुमोदन गरौं भन्ने प्रस्ताव आएको छ,’ वार्तापछि प्रसाईंले भने, ‘सहमति गर्न नसकिए सोही दिन जवाफ दिन्छौं भन्नुभयो । हामी आइतबारसम्म पर्खन्छौं ।’

प्रसाईंले जेनजीका माग पूरा नभए चुनाव हुन नसक्ने बताए ।

प्रसाईंले सरकारसँग सहमति नभए आन्दोलनमा जाने चेतावनी दिए । २० लाख भन्दा कम ऋण मिनाहा गर्नुपर्ने, सहकारी र लघुवित्त पीडितलाई सरकारले राहत दिनुपर्नेलगायत माग राखेर प्रसाईंले आन्दोलनमा छन् ।

प्रसाईं र सरकारबीच अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्यालसहित २ घण्टाभन्दा लामो वार्ता भएको थियो ।