Bagmati Samachar Logo

सुनसरी गोलीकाण्डः पीडित र प्रशासनबीच ५ बुँदे सहमति

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका १ का ४५ वर्षीय विजय साहको ज्यान गएको थियो। बुधबार बिहान १ः१० बजेतिर उनीमाथि सशस्त्रले गोली प्रहार गरेको हो।

त्यही घटनाको विरोधमा लौकही बजार क्षेत्र तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

सशस्त्रले साहको ज्यान दोहोरो भीडन्तमा गएको दाबी गरेको छ। गाउँलेले भने सशस्त्रले गोली हानेर हत्या गरेको आरोप लगाएका थिए ।

बिहीबार प्रशासन र स्थानीय प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले छानबिन समिति गठन गर्नेदेखि मृतकका परिवारलाई राहत र रोजगारी उपलब्ध गराउनेसम्मका निर्णय गरेको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने गरी एक छानबिन समिति गठन गरिएको छ।

उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। यदि छानबिनबाट सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमति पत्रमा उल्लेख छ।