Bagmati Samachar Logo

रवि–बालेन वान टू वान वार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान टू वान वार्ता सुरु भएको छ । वैकल्पिक शक्ति निर्माणको छलफलमा वान टु वान वार्तामा जुटेका हुन् ।

बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा वार्ता जारी छ । यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो ।

छलफलबाट बाहिरिने क्रममा कांग्रेस नेता शर्माले प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ भन्नेबारेमा आफूले बालेनसँग छलफल गरेको बताएका थिए ।

अहिले रवि लामिछानेले सोही ठाउँमा बालेनसँग वार्ता थालेका हुन् । रविका साथमा असिम शाह, गणेश कार्की पनि त्यहाँ पुगेका छन् । तर, वार्तामा उनीहरू भने सहभागी छैनन् ।

वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामको एनजीओका अध्यक्ष सुदन गुरुङ पनि त्यहाँ पुगेका छन् ।

यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । यो भन्दा पहीला भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।

बालेनले आजै बिहान पनि ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका थिए ।