ब्रिटिश कलेज प्रशासनले प्रहरी लगाएर अखिलका पक्राउ गरेका नेतालाई तत्काल रिहा गर्न माग
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंस्थित दी ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीहरूले चर्को शुल्क र नन–एक्रिडेटेड डिग्रीको विषयमा शान्तिपूर्ण आन्दोलन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले दमन गरेको बताएको छ ।
विद्यार्थीहरूबाट प्राप्त गुनासोका आधारमा सत्यतथ्य बुझ्न कलेज पुगेका आफ्नो संगठनका नेताहरुमाथि पनि कलेज प्रशासनले बाउन्सर र प्रहरी प्रयोग धरपकड गरेको अध्यक्ष दीपक धामीले बताएका छन् ।
धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरूको जायज माग सम्बोधन गर्नुको सट्टा भाडाका सिपाही प्रयोग गरी आन्दोलन दमन गर्नु, अनेरास्ववियुका अध्यक्षसहित केन्द्रीय नेतृत्व र सम्पूर्ण विद्यार्थीहरूमाथि धरपकड, बल प्रयोग तथा दुर्व्यवहार गर्नु किमार्थ स्वीकार्य छैन ।’
आन्दोलनका क्रममा पक्राउ परेका जित प्रसाद सिटौला, अञ्जली लम्साल (अम्बिका), रूद्रहरी पोखरेल, सुष्मा शाही, मौसम स्याङ्बो, दीपक रेग्मी, अर्चना भट्टराई, रवि मिश्र, दुर्गा घिमिरे, सञ्जीव बराइली र आदित्य भण्डारीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
सङ्गठनका सदस्यहरूमाथि धरपकड तथा बल प्रयोग जारी राख्ने र वार्ताको वातावरण नबनाए कलेज प्रशासनले जुनसुकै परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिँदै कलेज प्रशासनलाई २४ घण्टाभित्र वार्तामा आउन आग्रह गरेको छ ।
शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा प्रहरीको दमनबाट आफ्नो संगठनका नेताहरु घाइते भएको विज्ञीप्तीमा उल्लेख गरेको छ । घाइते हुनेमा अन्जली लम्साल (अम्बिका), विशाल खड्का, कमल जोशी, रबि मगर, ओम प्रकाश कुँवर, कमल राना, पुष्पा मगर, दिपक रेग्मी, सन्जिब बराईली, अनमोल खड्का, युवरज पोखरेल र निकेस केसरी लगायत छन् । विद्यार्थीहरुका माग सम्बोधन नगर्ने, संगठनका साथीहरु माथी धरपकड तथा बल प्रयोग गर्ने र वार्ताको वातावरण नबनाउने जस्ता क्रियाकलाप गरेमा कलेज प्रशासनलाई जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्: