Bagmati Samachar Logo

सबै कम्युनिस्ट एकै ठाउँमा हुन्छौँ, जालझेल गर्नेहरूलाई जनताले चिन्नेछन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिस्टहरु एक ठाउँमा आउने दाबी गरे ।

काठमाडौँमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले १६ वटा कम्युनिस्ट घटकहरू एकजुट भइसकेको र यो प्रक्रिया अझै विस्तार हुने बताए। सहमति, सहकार्य र एकताकै जगमा समाजवादको यात्रा सफल गर्ने नेकपाले नेतृत्व गर्ने बताए।

सम्बोधनका क्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कडा प्रहार समेत गरे। आफूलाई कम्युनिस्ट भन्नेहरूले नै विभिन्न छलकपट र जालझेल गरेर आफ्नै सहयोद्धाहरूमाथि प्रतिशोध साँधिरहेको उनको आरोप छ।

यस्ता जालप्रपञ्चका विरुद्ध इमानदार कम्युनिस्टहरू एकै ठाउँमा उभिनुको विकल्प नरहेको भन्दै उनले कार्यकर्ताहरूलाई एकताको महत्त्व बुझ्न आग्रह गरे। व्यक्तिगत स्वार्थ र प्रतिशोधको राजनीतिले देशलाई सही दिशा दिन नसक्ने उनको तर्क छ।

प्रचण्डले पछिल्लो समय सडकमा आएका ुजेनजीु पुस्ताका मागहरूलाई आफ्नो पार्टीले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए। नयाँ पुस्ताको चाहना र भावनालाई समेटेर मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिने विश्वास उनले व्यक्त गरे।

युवाहरूको माग र मुद्दालाई प्रमुखताका साथ अघि बढाएकै कारण नयाँ पुस्तामा पनि पार्टीको प्रभाव बढ्दै गएको दाबी गर्दै उनले समाजवादको यात्रा अब कसैले रोक्न नसक्ने बताए।