Bagmati Samachar Logo

एमालेमा ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुई जनाको खारेज

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेर मुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भए ।

यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशीलकुमार थापा, मधेश प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले मतदान गर्ने छन् ।