Bagmati Samachar Logo

जसले संकटमा साथ दिदै आएका थिए तीनीहहरु नै ओलीको निर्णयविरुद्ध उभिए

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओलीलाई नै नराम्रोसँग झट्का लागेको छ । लामो समयदेखि साथ दिर्दै आएका केही नेताहरू ओलीकोे निर्णयविरुद्ध उभिएका छन् । ओलीले महाधिवेशनमा उम्मेदवारी दर्ता गर्नु भन्दा केही समय पहीला निकालेको लिस्टमा कसैको इच्छा विरित पदाधिकारीमा नाम हालेको र अधिकांसको नाम नै नपरेपछि उनको निर्णय विरुद्ध उभिएका छन् ।

महासचिवमा उम्मेदवारी दिन तयार भएका उपमहासचिव प्रदीप ज्ञवालीलाई ओलीले उपाध्यक्षमा उम्मेदवारी दिन भनेपछि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए । उपाध्यक्षमा उम्मेदवारी दिएनन् । ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहराएपछि ज्ञवालीले ओलीको निर्णयको अवज्ञा मात्र गरेनन् पदाधिकारीमा उम्मेदवारी नै दिएनन् । जुन ओलीको लागि ठूलो झट्का हो । अध्यक्षमा निर्वाचित भएपछि ओलीलाई साथ सहयोग गर्दै आएका ज्ञवालीले ओेलीको निर्णय विरुद्ध विद्रो गरेका छन् । यो ओली विरुद्धको विद्रोह हो ।

अग्नि खरेल,रघुजी पन्त, लालबाबु पण्डित, राजेन्द्र गौतम, भीमप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

१९ सदस्यीय पदाधिकारीमा ओलीको सूचीलाई नै चुनौती दिँदै वर्षौदेखि साथ दिएका गोकुल बाँस्कोटाले त पहिले साथ छोडिसकेका थिए । उनले अहिले ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन् । कृष्णगोपाल श्रेष्ठले फूटबलको पेले र राजनीतिको पेले ओली भएको बताएका थिए । तर अन्तिममा ओलीसँग विद्रोह गरेर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका बेला २०७८ सालमा त्रिवि दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले ओलीको प्रशंसा गर्दै फुटबलको खेलाडी पेलेसँग तुलना गरेका थिए ।

‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ? के राजीनामा दे भन्दा यत्तिकै राजीनामा दिन मिल्छ ? ढुक्क हुनुन्, हिजोको भन्दा पावरफुल सरकारको एजुकेसन मिनिस्टर तपाईंहरूको अगाडि छ । यो कुनै अदालतको माया पाएर आएको सरकार हो ? अदालतको फैसलाले समाधान निस्किँदैन, ’ श्रेष्ठको यो भाषण चर्चित नै बनेको थियो ।

नेता पन्त प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्मा शिक्षामन्त्री थिए । उनी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । प्यानलमा नपरेपछि उनले स्वतन्त्र ढंगले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । । पछिल्लो समय पन्त ओलीको नजिक थिए ।

हाल पार्टीको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमलाई ओलीले केन्द्रीय सदस्यमा मात्र राखेपछि उनका निर्णयका विरुद्धमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।

अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्रै राखिएको थियो । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । प्रधानमन्त्री रहेका बेला ओलीको विज्ञ सल्लाहाकार भएर समेत खरेलले काम गरेका थिए । उनी कानुनमन्त्री पनि बनेका थिए ।

ओली प्यानलबाट उपाध्यक्ष अथवा सचिवका आकांक्षीमा नेता लालबाबु पण्डित थिए । तर, उनी ओलीको प्यानलमा परेनन् त्यसपछि उनले सचिव पदमा उम्मेदवारी दिए ।

ओली प्यानलमा नपरेपछि भीम आचार्यले पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओली प्यानलमा आचार्यको नाम केन्द्रीय सदस्यमा थियो ।

ज्वालाकुमारी साह सचिवको तयारीमा थिइन् । राजन भट्टराईको सट्टामा उनको नाम राखिएको थियो । तर, अन्तिम समयमा नाम काटिएपछि उनी असन्तुष्ट बनेकी छन् ।

शेरबहादुर तामाङले उपमहासचिव दाबी गरेका थिए । तर, उनलाई केन्द्रीय सदस्यमा मात्रै राखिएको छ ।

सचिवमा दाबेदारी गरेका कैलालीका नारदमुनि राना केन्द्रीय सदस्यमा समेत परेनन् । कांग्रेसकी आरजु राणालाई हराएर चर्चामा आएका उनलाई ओलीले केन्द्रीय सदस्यको उम्मेदवार पनि बनाउन चाहेनन् । यसबाट भड्किँदै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।