एमाले महाधिवेशनको दोस्रो दिन (फोटो फिचर)
काठामाडौं । नेकपा एमाले ११औँ महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । आइतबार बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र सवा तीन बजे बल्ल बल्ल सुरु भएको थियो । बन्दसत्र समयमा सुरु नभएपछि प्रतिनिधिहरु प्रर्दशनीमार्ग, भृकुटीमण्डपको पार्क र बन्दसत्र हलबाहीर थिए ।

एमाले महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र भएको हो ।

भृकुटीमण्डपमा दिवंगत कम्युनिस्ट नेताहरू पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीसहितका प्रतिमाहरू राखिएका छन् । यसैगरी मार्क्सवादका प्रणेता कार्ल मार्क्स, एंगेल्स र लेनिनका प्रतिमाहरू पनि राखिएका छन् । स्वागत लेखिएका ब्यानरमा भने अध्यक्ष केपी शर्मा ओलीको तस्वीर प्रयोग गरिएको छ ।

मुख्य गेटमा स्वयंसेवकले चेकजाँच गरेर भित्र पठाउँछन् । महिला र पुरुष अलगअलग गेटबाट भित्र छिर्नुपर्छ । त्यसपछि फेरि स्वयंसेवकले प्रतिनिधिहरूका कार्ड हेरेर मात्र भित्र छिर्न दिन्छन् । पहिला भृकुटीमण्डपको पार्कभित्र छिर्नुपर्छ । त्यसमा पनि ठूलठूला बोर्डहरू राखिएका छन् । त्यसमा विभिन्न समयका फोटो र ती फोटाका बारेमा मुनि क्याप्सन पनि लेखिएका छन् ।

पार्क पूरै घुमेपछि भृकुटीमण्डपको हलको मुख्य गेटमा पुगिन्छ । भृकुटीमण्डपको हललाई एमालेले मेसको रूपमा प्रयोग गरेको छ । हलको गेटबाट दायाँ अगाडि बढेपछि ठूलो मैदानमा बन्दसत्र हल बनाइएको छ ।

महाधिवेशन हलमा पुगेका ओलीसँग फोटो खिच्न नेता कार्यकर्ताहरुको तछाडमछाड थियो । वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि नेताकार्यकर्तासँग भलाकुसारी गरिरहेका थिए । केहि नेताहरु कार्यकर्तासँग फोटो खिच्नमा ब्यस्त थिए ।







प्रतिक्रिया दिनुहोस्: