Bagmati Samachar Logo

ईश्वर पोखरेलले बन्दसत्रमा ओलीलाई भने–तपाई आफैले ल्याएको उमेरहद र दुई कार्यकालको प्रस्ताव पढ्नुहोस्

काठमाडौं । ११ औँ महाधिवशेनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष लड्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीका कारण पार्टी भताभुंगको स्थितिमा पुगेको संकेत गरेका छन् । भृकुटीमण्डपमा आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै पोखरेलले भदौ २२ गते पुगिएको निष्कर्ष सबै ध्वस्त भएको बताएका हुन् ।

‘अब हामी ११ औँ अधिवेशनको हलमा छौँ । गत भदौ २२ गते हामी जुन निष्कर्षमा पुगेका थियौँ, त्यो ठाउँमा रहेनछौँ । सबै ध्वस्त भयो,’ पोखरेलले भने, ‘बाह्य कारण प्रमुख होकि आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकरण गर्नै पर्छ ।’
घुमाउरो हिसाबले पोखरेलले जेन–जी आन्दोलनको मुख्य कारक अध्यक्ष ओली नै रहेको संकेत पनि गरे ।

यस्तो छ पोखरेलको भनाइ

यो हाम्रो महाधिवेशनले एकताको महाधिवेशन हो भनेर सन्देश दिनुपर्छ, म चाहन्छु यसलाई साँच्चिकै एकताको महाधिवेशन बनाऔँ भन्न चाहन्छु । विगतका महाधिवेशनको स्मरण भइरहेको छ, खासगरी ५ औँ महाधिवेशन, त्यो अधिवेशनमा जवाफ प्रस्ताव भएको थियो । त्यो अधिवेशनले फरक मतको संरक्षण गर्ने कुराको ग्यारेन्टी गरेको थियो, जुन ऐतिहासिक थियो । ५ औँ महाधिवेशनले फरक मतलाई स्वीकार्ने कुरा कति महत्त्वपूर्ण रहेछ आज पनि उत्तिकै महत्त्वपूर्ण रहेछ ।

पार्टी सञ्चालनका बारेमा हामीले पुनर्विचार गर्नुपर्ने, बाह्य षड्यन्त्रलाई जिम्मा लगायौँ हाम्रो कार्यभार सकियो, ५ औँ अधिवेशन पछि किन पार्टी फुट्यो छलफल भएन । २०७१ मा कमरेड केपी ओली निर्वाचित हुनुभयो, हामी कुन सन्दर्भमा थियौँ भने कमरेड ओली बिरामी हुनुहुन्थ्यो । हामी आन्दोलनबाट आएको कमरेड ओली अध्यक्ष हुनुपर्छ ठान्थ्यौँ, उहाँले पार्टी जीवनको लोकतन्त्रीकरण र जवाफ भनेर एउटा किताब लेख्नुभएको छ, त्यसमा किन उमेरहद रु किन २ कार्यकाल उल्लेख छ, त्यसमा भ्रष्टाचारलगायतका विषयमा गहन कुराहरू छन् । जुन कमरेडहरूले एकपटक पढ्नुस् भन्न चाहन्छु ।

१० औँ अधिवेशनमा एमसीसी बाध्यता थियो, हाम्रो नेकपामा समस्या आयो, त्यसका बारेमा आत्मसमीक्षा हुनुपथ्र्यो तर कुनै समीक्षा छैन । अब हामी ११ औँ अधिवेशनको हलमा छौँ । गत भदौ २२ गते हामी जुन निष्कर्षमा पुगेका थियौँ, त्यो ठाउँमा रहेनछौँ । सबै ध्वस्त भयो, बाह्य कारण प्रमुख होकि आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकरण गर्नै पर्छ ।

हामीले सबै राम्रैराम्रो गर्‍यौँ तर असफल भयौँ  ?  किन ? हामीसँग राज्य संयन्त्र थियो, के राज्य संयन्त्र निकम्मा हो  ? वा हामीबाट कमजोरी भयो  ? कमजोरी भयो भन्नेतिर ध्यान दिनै पर्छ । हामीमा पर्याप्त कमजोरी थिए । मैले अध्यक्ष कमरेडसँग सल्लाह गरेरै एउटा अवधारणा पेस गरेको छु, जुन प्रतिनिधिहरूले पाउनुहुनेछ ।

हाम्रो नीति र विधिमा समस्या छैन, हाम्रो नीति र व्यवहारमा समस्या रह्यो भन्ने कुरा स्वीकार्नै पर्छ । हाम्रो पार्टी थुप्रै ऐतिहासिक आन्दोलनहरूको नेतृत्व गरेको पार्टी हो । यसलाई अविच्छिन्न क्रान्तिकारी बाटोतर्फ लैजान आजको कार्यशैलीले व्यवधान खडा गर्छ, हामी नीति र विधानअनुसार हिँड्नुपर्छ ।