Bagmati Samachar Logo

वामपन्थीहरूबीच एकताको विकल्प छैन : देव गुरुङ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले वामपन्थीहरूबीच एकताको विकल्प नभएको बताएका छन् । शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्र रक्षा गर्न कठिन रहेको बताए ।

उनले नेकपाले कम्युनिस्टहरूको एकता प्रक्रिया सुरु गरेको बताए । ‘यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर संकटमा छ, संविधान कोमामा छ । मुलुकको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछि सबैभन्दा संकटमा छ’, गुरुङले भने, ‘यो संकट सम्बोधन गर्ने अग्रगामी शक्ति कम्युनिस्ट पार्टी मात्र हुन सक्छ ।’

कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको पनि गुरुङले बताए । ‘संकटको समाधान गर्ने नै सक्षम र सही अर्थमा राष्ट्रवादी हुन सक्छ । विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्रको रक्षा गर्न कठिन छ,’ गुरुङले भने ।