Bagmati Samachar Logo

रिमोटबाट कम्युनिस्ट झण्डा फहराएर अध्यक्ष केपी ओलीले गरे एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन रिमोटबाट कम्युनिस्ट झण्डा फहराएर उद्घाटन गरेका छन् । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित एक कार्यक्रमका बीच ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । देशका विभिन्न भागबाट आएका हजारौँ नेता कार्यकर्ताबीच ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् ।

जेन–जीको २३ र २४ भदौको आन्दोलनपछि सत्ताबाट बाहिरीएको एमालेले विधान महाधिवेशन गरेको तीन महीनामा महाधिवेशन आयोजना गरेको छ । जेन–जीको आन्दोलनपछि हुन लागेको ठूलो पार्टी कार्यक्रम भएकोले एमालेले आजको उद्घाटन समारोहलाई शक्ति प्रदर्शनको रूपमा लिँदै आएको छ । अध्यक्ष ओलीले नै पटकपटक एमालेले वास्तविक शक्ति २७ मंसिरमा देखाउने बताउँदै आएका थिए ।

उद्घाटन कार्यक्रम सुरुवातमै उपमहासचिव प्रदीप ज्ञवालीले जेन–जी आन्दोलनको ठीक तीन महिनापछि एमाले शक्ति प्रदर्शनसहित महाधिवेशनको मैदानमा उत्रिएको बताए । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्यका लागि दलहरूका प्रतिनिधि, विभिन्न पेशागत संगठनका प्रतिनिधि पनि सल्लाघारी पुगेका छन् ।

आज उद्घाटन भएपछि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ । यसअघि भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गरेको एमाले यसपटक नेतृत्वमा चयनमा मात्रै केन्द्रित हुनेछ । यद्यपि ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काउन्टर प्रस्तावको रूपमा अवधारणापत्र पार्टीमा दर्ता गराएका छन् । औपचारिक रूपमा यो अवधारणापत्रमाथि छलफल नहुने बुझिएको छ । यद्यपि पोखरेलले अवधारणापत्र प्रतिनिधिलाई वितरण गर्न पाउने छन् ।एमालेका २ हजार २ सय ६२ महाधिवेशन प्रतिनिधि सहभागी छन् ।