Bagmati Samachar Logo

क्रान्तिकारीका ६ उपाध्यक्षद्वारा मूल नेतृत्व विधि र पद्धतिमा नचलेको आरोप

काठमाडौं । पूर्वनेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का ६ जना उपाध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संगठनको मूल नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

उपाध्यक्षहरू उमेश कँडेल, मदन ढकाल, ममता अधिकारी, कृष्ण ब. सुनार, अभिमन्यू यादव र बिराज थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संगठनभित्र सामूहिक रुपमा छलफल हुन छाडेको र यसको जिम्मेवारी मूल नेतृत्वले लिनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनहरूमा संगठनभित्र सामूहिक छलफल हुन छाड्नु अत्यन्त गम्भीर विषय हो, जसको जिम्मेवारी मुख्यतः संगठनको मूल नेतृत्वले लिनुपर्दछ। यही कारण संगठनले आयोजना गर्ने कार्यक्रमहरू फिक्का हुने र प्रभावहीन बन्दै गएको अवस्थाप्रति पनि हामी सचेत छौँ।’

उनीहरूले संगठनको मूल नेतृत्व र फ्याक्सनलाई विधि र पद्धति अनुसार विस्तृत एकता निर्माण गर्न पहल लिन समेत अनुरोध गरेका छन्। पार्टी एकताको भावना झल्किने गरी कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्न उनीहरूको सामूहिक माग छ।

जेनजी आन्दोलन र सरकारी दमनको विरोध विद्यार्थी नेताहरूले हालैको जेनजी आन्दोलनका क्रममा सहभागी विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि सरकारले अन्यायपूर्ण रूपमा मुद्दा दायर गरेको भन्दै त्यसको कडा शब्दमा विरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तोडफोड, आगजनी तथा घुसपैठमा संलग्न व्यक्तिहरूको बारेमा निष्पक्ष अनुसन्धान गरी उचित कारबाही गर्न सरकारसँग माग गर्दछौँ।’

साथै, शैक्षिक क्षेत्रका विकृति, विसंगति र निजीकरण विरुद्धको संघर्ष जारी रहने उनीहरूले बताएका छन्।

विद्यार्थी आन्दोलनको औचित्यमाथि चिन्ता समाजमा विद्यमान विकृति र विभेदका प्रश्नहरू उठिरहँदा विद्यार्थी आन्दोलन विचलित वा अलमलिएको हो कि भन्ने आम जनआभास देखिनु गम्भीर विषय भएको उनीहरूको ठहर छ।
विज्ञप्तीमा भनिएको छ , ‘विद्यार्थी संगठनको आवश्यकता नै शून्य हुँदै गएको हो कि भन्ने प्रश्नहरू उठिरहेका छन्, जुन अवस्थाप्रति हामी गम्भीर छौँ ।’

पार्टी एकता र सन्देश सभा नेपालका प्रमुख वामपन्थी पार्टीहरूको एकीकरणपछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ द्वारा आयोजित सन्देश सभाहरूमा विद्यार्थी संगठन पनि सक्रिय रूपमा सहभागी हुनुपर्ने र पार्टी एकताको सन्देश समाजका सबै संरचनामा सम्प्रेषण गर्नु विद्यार्थी संगठनको जिम्मेवारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।