Bagmati Samachar Logo

लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं । विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । पहिलोपटक फाइनलमा प्रवेश गरेको लुम्बिनीले उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । सुदूरपश्चिमले पनि पहिलो क्वालिफायरमा विराटनगरलाई निराश बनाएको थियो ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७।५ ओभरमा ९४ रनमै समेटियो । विराटनगरका लागि साम हिजलेटले ३४, नरेन भट्टले २१ र मर्सान्ट डी लाङ्गले १७ रन बनाए ।

लुम्बिनीका लागि तिलक भण्डारीले तीन, जेजे स्मिथ, अभिषेश गौतम र रुबेन ट्रम्पलम्यानले दुई–दुई तथा शेर मल्लले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३४ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि डार्शी शर्टले ४५, कप्तान रोहितकुमार पौडेलले ३४, निरोशन डिकवेलाले २९ र रुबेन ट्रम्पलम्यानले अविजित ११ रन बनाए । विराटनगरका लागि सुवाश भण्डारीले तथा प्रतिस जिसीले तीन–तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।