Bagmati Samachar Logo

बालुवाटारबाट कातर भएर होइन बुद्धि पुर्याएर भागेको : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते सेनाको हेलिकप्टरमा बालुवाटाबाट भागेको स्वीकारेका छन् ।

बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा भदौ २४ गते आफू सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट भागेको सन्दर्भ उठेपछि स्पष्टिकरण दिएका छन् ।

उनले महाभारतमा उल्लिखित घटना र पात्रहरुसँग आफूलाई दाँजेका छन् । महाभारतमा कौरवहरूले लाक्षागृहमै पाण्डवहरूलाई जलाएर मार्न खोजेको भन्दै आफूलाई पवनि बालुवाटारमा नै मार्न खोजेको कुरासँग जोडेका छन् ।

उनले भने, ‘उसबेला लाक्षा गृहभित्र हालेर पाण्डवहरूलाई डढाएर मार्न खोजेका थिए। एकतिरबाट आगो लगाए उनीहरू अर्कातिरबाट भाग्दिए। भागेकै हुन् पाण्डवहरू। काँतर भएर भागेको होइन। बुद्धि पुर्‍याएर भागेको हो ।’

बहादुर भएर हातमा धनुवाण समातेर, गधा लिएर साहसका साथ म जल्छु तर भाग्दिनँ भनेको भए पाण्डवहरु जल्ने अवस्था रहेको बताए । उनले भने, ‘पाण्डवहरु जल्न हुँदैनथ्यो। त्यस्ता परिस्थिति आउँदो रहेछ। दुष्टहरूको घेराबन्दी तोड्न पर्ने रहेछ। त्यस्ता प्रयासलाई असफल पार्नुपर्ने रहेछ। जस्तो पाण्डवले पारेका थिए ।’

२४ भदौमा के–के खुवाएर बेहोसिमा मानिसहरू ल्याएर आक्रमण गर्न आएका बताए ।

उनले भने, ‘मैले किन बालुवाटा छाडेँ भन्दा नछाड्न सक्थेँ। के–के खुवाएर ल्याएको छ, बेहोसका मान्छे आक्रमण गर्न आउँछन्। आत्मरक्षाका लागि प्रहार गर्दा हताहत हुने भयो। हताहतभन्दा ओल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’

ओलीले आफूले केयरटेकर प्रधानमन्त्रीकै रूपमा रहेको र सोही अनुसार प्रधानमन्त्री सिफारिस गरेको पनि बताए।

उनले भने, ‘२६ गते राति मैले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्री हैसियतमा सिफारिस गर्दैछु भने म कहाँ भागे ? भागेको ठाउँबाट मैले पठाएँ ? राष्ट्रपति र प्रधानसेनापतिले मलाई भेट्नुभयो। हाम्रो कुराकानी भयो र मैले राष्ट्रपति ज्यूलाई सिफारिस गरेँ। त्यो भागेको भयो ?’