Bagmati Samachar Logo

एमाले महाधिवेशन : एमालेको केन्द्रीय सदस्य बन्ने दौडमा कल्पना थापा

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । यही मंसिर २७ मा भक्तपुरको सल्लाघारीमा एमालेको महाधिवेशन उद्घाटन हुँदै छ । अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि मैदानमा उत्रिएका छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन् । पदाधिकारीमा दोहरीने देखि निरन्तरताको दौडधुपमा रहेका नेताहरुबीचमा केहि युवाहरु भने पहिलोपटक केन्द्रीय सदस्य बन्ने तयारीका साथ महाधिवेशनमा होमिएका छन् ।

एमालेले यो महाधिवेशनबाट ४० वर्ष मुनिका युवाहरु केन्द्रीय कमिटीमा सहभागिता गराउने तयारी गरेसँगै युवा नेताहरू पनि पहिलोपटक केन्द्रीय सदस्य बन्ने तयारीका साथ महाधिवेशनमा सहभागी भएका छन् ।

यसरी केन्द्रीय सदस्य बन्ने दौडमा सबैभन्दा धेरै अनेरास्ववियुको राजनीति गरेका युवाहरूको संख्या धेरै छ । यसैमध्ये एक हुन् अनेरास्ववियुकी पूर्व स्थायी कमिटी सदस्य कल्पना थापा । थापा १९ वर्षको उमेर २०६७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । जनकपुरमा भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य बनेको ठीक १५ वर्षपछि उनी एमालेको केन्द्रीय सदस्य बन्ने दौडमा छिन् ।

कर्णाली प्रदेशको दैलेख जिल्लाको आठविस नगरपालिकाको उममेयर रहेकी थापा माधव ढुंगेल, किशोरविक्रम मल्ल, नविना लामा र ऐन महर अनेरास्ववियुको अध्यक्ष रहँदा केन्द्रीय कमिटीमा थिइन् । उनी लामाको कमिटीमा सचिवालय सदस्य र महरको कमिटीमा स्थायी कमिटी सदस्य थिइन् । त्यसपछि अनेरास्ववियुको राजनीतिबाट विदा लिएकी उनी नेकपा एमाले दैलेख जिल्ला कमिटी सदस्य भइन् । यसैबीचमा उनी २०७९ मा भएको स्थानीय तहको चुनावमा दैलेखको आठविस नगरपालिकामा उपमेयर निर्वाचित भएकी हुन् ।

हाल नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेकी थापा दैलेखबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएर कि हुन् । १९ वर्षमा अखिलको केन्द्रीय सदस्य भएकी थापा ३५ वर्षको उमेरमा एमालेको केन्द्रीय कमिटीमा पुग्ने दौडमा छिन् । उनले भनिन्, ‘एमालेजस्तो सशक्त र मजबुत पार्टीलाई अझ बलियो बनाउन युवाहरूको भूमिका महत्त्वपूर्ण छ । म केन्द्रीय कमिटीमा रहेर पार्टीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न चाहन्छु ।’