११ औँ महाधिवशेनबाट केन्द्रीय कमिटीमा डेब्यु गर्न तम्सेका एमालेका युवा नेताहरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनबाट ४० वर्ष मुनिका धेरै युवाहरु केन्द्रीय कमिटीमा डेब्यु गर्ने तयारीमा छन् । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली भर्सेज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच अध्यक्ष लगायतका पदाधिकारीमा प्रतिस्पर्धा हुने भएको छ ।
एमालेले यो महाधिवेशनबाट ४० वर्षमुनिका युवाहरूका लागि प्रतिनिधिमा नै कोटा छुट्याएको छ । हरेक निर्वाचन क्षेत्रबाट एक जना ४० वर्षमुनिका युवा अनिवार्य प्रतिनिधि चयन गरेको छ ।
तर, प्रतिनिधि चयन भएका सबै युवाहरू केन्द्रीय कमिटी सदस्यका लागि प्रतिस्पर्धा गर्न पनि नपाउने अवस्था आउँदा केही प्रतिस्पर्धी घट्नेछन् । एमालेको विधानअनुसार केन्द्री सदस्य हुन अथवा प्रतिस्पर्धा गर्न पार्टी सदस्यता लिएको सात वर्ष पूरा भएको हुनुपर्छ ।
जिल्ला कमिटीको कम्तीमा एक कार्यकाल पदाधिकारी भएको हुनुपर्छ । त्यस्तै, प्रदेश कमिटी सदस्य भएको हुनुपर्छ । एमालेका जनवर्गीय संगठनको केन्द्रीय कमिटीको पदाधिकारी एक कार्यकाल भएको हुनुपर्ने व्यवस्था छ । केही प्रतिनिधि यो मापदण्डमा नपर्ने हुँदा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनेछन् ।
एमालेले हरेक कमिटीमा १० प्रतिशत युवाहरू अथवा ४० वर्षमुनिका युवाहरूका लागि कोटा छुट्याएको छ, जसअनुसार २५ जना युवाहरू केन्द्रीय सदस्यमा पहिलोपटक पुग्नेछन् ।
एमालेको यो महाधिवेशनबाट २ सय ५१ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था विधानमा गरेको छ । तर अहिले एमालेले विधानमा पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको संख्या बढाउने तयारी गरेको छ । जस अनुसार युवाहरुको संख्या केन्द्रीय कमिटीमा बढ्ने छ ।
तर, तल्ला कमिटीहरूमा १० प्रतिशत छुट्याएको भए पनि केन्द्रीय कमिटीमा १० प्रतिशतको व्यवस्था नटुंगिएको प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले भने, ‘कमिटीमा १० प्रतिशत युवाहरूलाई कोटा छुट्याएको तल्ला कमिटीहरूमा हो । केन्द्रीय कमिटीमा यति प्रतिशत भनेर निर्णय भइसकेको छैन । तर, ४० वर्ष मुनिका धेरै युवा यो महाधिवेशनबाट डेब्यु गर्छन् ।’
पहिलोपटक केन्द्रीय कमिटीमा डेब्यु गर्ने तयारी गर्नेमा सबैभन्दा बढी अनेरास्ववियुका पूर्वविद्यार्थी नेताहरू छन् । केही युवासंघका पूर्व र वर्तमान अध्यक्ष छन् ।
केही युवाहरू भूगोलमा राजनीति गरेका वडाअध्यक्ष, पार्टीको जिल्ला अध्यक्षसम्म भइसकेका युवाहरू पनि पहिलोपटक केन्द्रीय कमिटीमा डेब्यु गर्ने तयारीमा छन् ।
विद्यार्थी राजनीतिमा उमेरहद लागेपछि पार्टी भूगोलमा जोडिएका विद्यार्थी नेताहरू जिल्लाजिल्लाबाट प्रतिनिधि बनेर महाधिवेशनमा आएका छन् । विद्यार्थीको अध्यक्ष, महासचिवलगायतका पदाधिकारीको तयारी गरेका विद्यार्थी नेताहरू उमेरहद लागेसँगै संगठनबाट बिदा भएका थिए । उनीहरू अहिले केन्द्रीय कमिटीमा डेब्यु गर्ने तयारीमा लागेका छन् ।
पहिलोपटक केन्द्रीय कमिटीमा डेब्यु गर्न प्रतिस्पर्धाको तयारीमा रहेका छन् अखिलका तत्कालीन उपाध्यक्ष नारायण घर्ती । उनी उमेरहदका कारण अध्यक्ष हुनबाट रोकिएका नेता हुन् । उनी उमेरहद लागेपछि गृहजिल्ला जाजरकोटमा पार्टी कमिटीमा जोडिएका थिए । उनी जाजरकोटबाट युवा प्रतिनिधि कोटामा प्रतिनिधि चयन भएर आएका छन् ।
केन्द्रीय कमिटीमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको घर्तीले बताए । उनले भने, ‘४० वर्षमुनिको युवाबाट प्रतिनिधि भएर आएको छु । अब केन्द्रीय सदस्यमा प्रतिस्पर्धा त स्वत गर्छु नै । युवाहरूबीच प्रतिस्पर्धा गर्छु ।’
तत्कालीन अखिलका उपाध्यक्ष गोविन्द गिरी बैतडीबाट प्रतिनिधि चयन भएका छन् । गिरी पनि ४० वर्ष मुनिको युवा क्लस्टरबाट प्रतिनिधि चयन भएका हुन् । गिरीले पनि केन्द्रीय सदस्यको तयारी गरेको बताए ।
निवर्तमान उपाध्यक्ष धर्म गिरी पनि महाधिवेशन प्रतिनिधि भएका छन् । उनी पनि युवा समूहबाट केन्द्रीय सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा छन् ।
निवर्तमान अखिल महासचिव नरेश रोकाया बाजुराबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनले पनि महाधिवेशनबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेको उनले बताए ।
उनले भने, ‘क्लस्टर छुट्याएको छ । त्यसमा नै प्रतिस्पर्धा गर्नुपर्छ । खुल्लामा मभन्दा सिनियर नेताहरू हुनुहुन्छ ।’
सुदूरपश्चिबाट ४० वर्षमुनिका युवाहरू पहिलोपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा गोविन्द गिरी, नरेश रोकाया, बम बहादुर बम, मोती विक र तीर्थ भट्टराई रहेका छन् ।
कर्णालीबाट घर्तीसँगै अखिलका पूर्वसचिव तपेन्द्र शाही, अखिलका पूर्वकेन्द्रीय सदस्य दानसिं परियार, सुशील थापाले तयारी गरेका छन् । त्यस्तै, दैलेखको आठबिस नगरपालिकाकी उपमेयर कल्पना थापा पनि ४० वर्षमुनिको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारीमा छिन् ।
कल्पना थापा महिला कोटामा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । कल्पनाले पहिलोपटक केन्द्रीय कमिटी सदस्यका लागि डेब्यु गर्ने तयारीमा रहेको बताइन् । उनले भनिन्, ‘महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्छु । सानै उमेरमा पालिको उपमेयर भएकी छु । अब पार्टीको केन्द्रीय सदस्य हुने तयारीमा छु ।’
लुम्बिनी प्रदेशबाट रुकुमपूर्वका एमाले जिल्ला अध्यक्ष लीलामणि गौतम केन्द्रीय सदस्यका लागि तयारी गरेको बताउँछन् । उनले भने, ‘म एमालेका सबैभन्दा कान्छो जिल्ला अध्यक्ष हुँ । महाधिवेशनका लागि पनि ४० वर्षमुनिको प्रतिनिधि चयन भएर आएको छु । म केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्छु ।’
रुपन्देहीका बालकृष्ण पाण्डेलेले केन्द्रीय सदस्यमा उम्मेदवारी हुने मन बनाएको बताए । उनले भने, ‘अहिले त केन्द्रीय सदस्यमा उम्मेदवार बन्नुपर्छ भन्ने भएको छ । तर, महाधिवेशनमा परिस्थिति कस्तो आउँछ हेरौँ ।’
गण्डकी प्रदेशबाट अखिलको गत जेठमा भएको महाधिवेशनमा ७ मतले अध्यक्षमा पराजित भएका विद्यार्थी नेता प्रकाश पौडेल पनि केन्द्रीय कमिटीका लागि तयारी गरेका छन् ।
महाधिवेशन प्रतिनिधि भएका पौडेलले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने बताए । उनले भने, ‘पार्टीले क्लस्टर छुट्याएको छ । त्यस कारण पनि सहज हुन्छ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न । पार्टीले नै क्लस्टर छुट्याएपछि प्रतिस्पर्धा छ गर्नुपर्यो नै ।’
गण्डकी प्रदेशको पर्वत जिल्लाको पार्टी जिल्ला उपाध्यक्ष तथा मोदी गाउँपालिका उपाध्यक्ष रहेका ४० वर्ष मुनिका युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधि बनेका छन् विमल लामिछाने । ४० वर्षमुनिबाट नै महाधिवेशन प्रतिनिधि भएर आएकाले केन्द्रीय सदस्यमा पनि त्यही उमेर समूहमा प्रतिस्पर्धा गर्ने लामिछानेले बताए ।
त्यस्तै, हीरालाल विश्वकर्मा पनि ४० वर्षमुनिको उमेर समूहबाट केन्द्रीय सदस्यको तयारीमा रहेका छन् । कास्कीका नवराज ओझा पनि केन्द्रीय सदस्यको तयारीमा रहेका छन् ।
बागमती र उपत्यका प्रदेशबाट पनि ४० वर्षमुनिका युवाहरू पहिलोपटक केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धाको तयारीमा छन् । अखिलका पूर्वउपमहासचिव सुदर्शन शिवाकोटी अखिलको उम्मेरहद लाग्दा बिदा भएका हुन् ।
शिवाकोटीले यो महाधिवेशबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्न चाहेको बताए । उनले भने, ‘काठमाडौंबाट ४० मुनिको प्रतिनिधि चयन भएको छु । यही उमेर समूहमा केन्द्रीय कमिटीमा कोटा छुट्याएकाले प्रतिस्पर्धा गर्छु ।’
काभ्रेका जेनिश लामा अखिलको कोषाध्यक्षबाट उमेहदका कारण बिदा भएका छन् । उनी पनि महाधिवेशनमा प्रतिनिधि भएका छन् र केन्द्रीय सदस्यमा ४० वर्षको उमेर समूहमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
अखिलको पूर्वउपाध्यक्ष कल्पना वाइबा पनि युवाका लागि केन्द्रीय सदस्यमा कोटा छुट्याएमा प्रतिस्पर्धा गर्ने बताउँछिन् । उनले भनिन्, ‘अहिले नै यति युवालाई केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय भएको छैन । तर हलबाट युवाहरूलाई कोटा छुट्याएमा म पनि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्छु ।’
कोशीको इलामबाट सुहाङ नेम्वाङ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । इलामबाट खुल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका छन् नेम्वाङ ।
उमेर समूहमा हुन्छ कि खुल्लामा हुन्छ, सरसल्लाह गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउँछन् । उनले भने, ‘सबैसँग सरसल्लाह गर्दै छु । केमा हुन्छ, निश्चित भएको छैन । तर, केन्द्रीय सदस्य हुने हो ।’
त्यस्तै, सुनसरीका केशव रिमाल पनि युवा क्लस्टरबाट नै केन्द्रीय सदस्य हुने तयारीमा छन् । मधेशबाट राधिका खतिवडा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । युवासंघबाट सर्वसम्मत रूपमा अध्यक्ष क्षितिज थेबे प्रतिनिधि चयन भएका छन् । उनी पनि केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन् ।
युवा संघका पूर्वअध्यक्ष वचनवहादुर सिंह पनि पहिलोपटक केन्द्रीय सदस्य उम्मेदवारका लागि तयारीमा छन् । त्यस्तै, युवा संघका क्रान्ति बुर्लाकोटी पनि केन्द्रीय सदस्यको तयारीमा छन् । र, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र गणेश बस्नेत पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्: