एमाले महाधिवेशन : पदाधिकारीमा दुई कार्यकालको प्रावधान पुन स्थापना गर्न ईश्वर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको पदाधिकारीहरूमा दुई कार्यकालको प्रावधानलाई विधानमा पुनः स्थापना गर्न माग गरेका छन् । पार्टी कार्यालय च्यासलमा सोमबार बुझाइएको अवधारणापत्रमा पोखरेलले आठौँ र नवौँ महाधिवेशनमार्फत अभ्यास गरिएको अवधारणालाई केन्द्रदेखि स्थानीय तहसम्म नयाँ सन्दर्भमा परिमार्जन गरी लागू गरिनुपर्ने माग राखेका हुन् ।
११ औँ महाधिवेशन आउन पाँच दिन मात्रै बाँकी हुँदा पोखरेलले आफ्नो समूहका नेताहरूसहित पार्टी महासचिव शङ्कर पोखरेलसमक्ष उक्त अवधारणापत्र बुझाएका हुन् । उनले व्यक्तिको योग्यताअनुसार जिम्मेवारी, जिम्मेवारीअनुसार कार्यसम्पादन र कार्यसम्पादनअनुसार मूल्याङ्कन गरिने पार्टी हुनुपर्ने समेत भनेका छन् ।
त्यस्तै संसदीय फाँटका उम्मेदवार छनोटमा पार्टी सदस्य र आम नागरिकको अभिमतलाई आधार मान्नुपर्ने, समानुपातिक उम्मेदवार तथा लाभका अवसरहरूमा श्रमिकवर्गीय पक्षधरता, विषयविज्ञता, पार्टीप्रतिको प्रतिबद्धता, स्वच्छ छवि र आचारलाई आधार मानेर स्पष्ट र पारदर्शी मापदण्डलाई कार्यान्वयनमा ल्याउनुपर्ने समेत उल्लेख गरेका छन् ।
पोखरेलले पार्टीका तहगत अधिवेशन जनसङ्गठनका अधिवेशनमा उच्चतम सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्ने समेत माग गरका छन् ।
प्रतिक्रिया दिनुहोस्: