एउटा व्यक्ति दुईपटक पार्टी अध्यक्ष बन्न नपाउने कानुनमा व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुईपटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमा नै गरेर जानु पर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।
पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै राख्नुपर्ने उनले बताए ।
उनले भने, ‘एक जना व्यक्ति पार्टी अध्यक्ष दुईपटक भन्दा बढी हुन नपाउने व्यवस्था कानुनी रुपमा नै गर्नु पर्छ । यो एउटा राजनीतिक प्रश्न हो । यसको समाधान कानुनी र संवैधानिक रुपमा पनि गर्न जरुरी छ । त्यो भनेको एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने भन्ने व्यवस्था कानुनमा ल्याउनुपर्छ ।’
एमाले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दै गएको टिप्पणी गरेका छन् ।
उनले एमाले व्यक्तिको निर्णयबाट चल्ने पार्टीमा परिणत भएको बताएका छन् । उनले भने, ‘यो लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको छ । जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दैछ ।’
युवा पुस्ताले पनि चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने र माथिबाटै लिस्ट पेश हुने पार्टीमा किन लाग्ने भनेर आउ छोडेको बताए ।
उनले भने, ‘विस्तार भएर जानुपर्ने, युवापुस्ताको बीचमा पार्टी विस्तार हुनुपर्ने हो । युवपुस्ताले पनि देख्यो, चुनाव नहुने पार्टीमा किन आउने ? प्रतिस्पर्धा गर्न नपाउने पार्टीमा किन आउने ? माथिबाट लिस्ट पेश गर्ने पार्टीमा किन आउने ? जहाँ कुनै सम्भावना छैन ।’
पुरानामा पार्टीमा मात्रै नभइ नयाँ बनेका पार्टीमा पनि यो समस्या देखिन थालेकोमा उनले चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्: