Bagmati Samachar Logo

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटले जितेको छ । जितेसँगै लुम्बिनी लायन्सको प्लेअफमा स्थान पक्का भएको छ । जितसँगै लुम्बिनीले सात खेलमा आठ अंक जोडेको छ । यससँगै प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ । यसअघि नै सुदूरपश्चिम, काठमाण्डू र विराटनगरले प्लेअफमा स्थान बनाइसकेका थिए ।

पराजयसँगै ६ खेलमा दुई अंक जोडेको जनकपुरको भने प्लेअफ सम्भावना समाप्त भएको छ । जनकपुरको हारले पोखरा र चितवनको पनि प्लेअफ सम्भावना सकिएको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य लुम्बिनीले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३४, डार्शी शर्टले ३०, जेजे स्मिथले २१, निरोशन डिकवेलाले १७ र दिलीप नाथले अविजित १५ रन बनाए ।

जनकपुरका लागि संगीत कुरेले ३, मयन यादवले २ र सञ्जय कृष्णमुर्तिले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल तयार पारेको थियो । जनकपुरका लागि संगीत कुरेले अविजित ४५, मयन यादवले अविजित २७, आसिफ शेखले २०, सञ्जय कृष्णमुर्तिले १४ र सुभ कंसकारले ११ रन बनाए ।

लुम्बिनीका लागि शेर मल्ल र काप्तन रोहितकुमार पौडेलले दुई–दुई तथा रुबेन ट्रम्पलम्यान र जेजे स्मिथले एक–एक विकेट लिए ।