Bagmati Samachar Logo

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने, विराटनगर पनि प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेको छ । यो जितसँगै ६ खेलमा १२ अंक जोडेको सुदूरपश्चिमले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । यसैगरी सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्सले पनि प्लेअफको यात्रा तय गरेको छ ।

हारसँगै ६ खेलमा चार अंक जोडेको चितवनको भने प्लेअफ सम्भावना कमजोर बनेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७।१ ओभरमा १ सय २० रनमै समेटियो । चितवनका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए ।

सुदूरपश्चिमका लागि पुनिल मेहराले तीन तथा अभिनाश बोहोरा, इशान पाण्डे, हिम्मत महरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एक(एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै १ सय ६९ रनको योगफल तयार पारेको हो ।

सुदूरपश्चिमका लागि क्रिस लिनले रिटायर्ड हर्ट हुनुअघि ५६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २४.२४, विनोद भण्डारीले २१ र पुनित मेहरले १३ रन बनाए । चितवनका लागि सैफ जेबले दुई तथा रञ्जित कुमार र जर्ज स्क्रिमशले एक(एक विकेट लिए ।