मधेस प्रदेशमा एमालेको ओरालो यात्रा : एक महिनामा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीसम्म गुमायो
काठमाडौं । कात्तिक महिनाको अन्तिम सातासम्म मधेस प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा नेकपा एमाले बलियो अवस्थामा थियो। प्रदेश प्रमुख र सभामुखसहित मुख्यमन्त्री पदसमेत हात पारेको एमालेले अन्ततः कात्तिक २४ यता करिब एक महिनाभित्रै प्रदेशका तीन वटै मुख्य पदहरू गुमाएको छ।
बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएसँगै एमाले मधेस प्रदेशका सबैजसो प्रमुख पदबाट बाहिरिएको छ। यादवले विश्वासको मत पाउन नसक्ने अवस्थामा राजीनामा दिएका हुन्।
एमालेले लगातार गुमाएका मुख्य पदहरू
प्रदेश प्रमुख : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा नियुक्त भएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कात्तिक २४ गते बिहान होटलमा मुख्यमन्त्रीलाई शपथ गराएको घटनापछि पदमुक्त गरियो।
सभामुख : सभामुख रामचन्द्र मण्डललाई पदीय आचरण अनुरूप काम नगरेको भन्दै कात्तिक २७ मा प्रस्ताव दर्ता भएपछि मंसिर ३ मा प्रदेश सभा बैठकले पदमुक्त गर्यो।
मुख्यमन्त्री : एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले सर्वोच्च अदालतको २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने परमादेशपछि सदनबाट विश्वासको मत पाउन नसक्ने अवस्थामा बुधबार राजीनामा दिए।
एमाले सांसदहरूको आक्रोश
दलभित्रै एमालेका केही सांसदहरूले पार्टी नेतृत्वको ‘अनावश्यक चलखेल’ र ‘होटल काण्ड’ लाई यस अवस्थाका लागि जिम्मेवार ठहर्याएका छन्। एक सांसदले ‘भुइँको टिप्न खोज्दा खल्तीको पनि गयो’ भन्दै पार्टीले कांग्रेससहितका शक्तिलाई धोका दिनु ठूलो गल्ती भएको बताएका छन्।
पार्टी नेतृत्वको प्रतिक्रिया
यद्यपि, एमाले मधेस प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले पदहरू आउने–जाने भइरहने भन्दै यसलाई सामान्य रूपमा लिएको दाबी गरेका छन्। उनले ुदेशी विदेशी षड्यन्त्र र निर्देशनु का कारण आफूहरूलाई हटाइएको आरोप लगाएका छन्।
विवादित मुख्यमन्त्री नियुक्ति
तत्कालीन प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान समेत नगरी सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। महोत्तरीको बर्दिबासस्थित एउटा होटलमा कात्तिक २४ को बिहानै शपथ गराइएको यो घटना ‘होटल काण्ड’ का रूपमा चर्चामा आएको थियो, जसले प्रदेशमा ठूलो राजनीतिक तरंग सिर्जना गर्यो र अन्ततः उनलाई पदमुक्त गरायो।
नयाँ गठबन्धन बलियो
हाल १०७ सदस्यीय प्रदेश सभामा सरकार टिकाउन ५४ मत आवश्यक पर्छ। तर एमाले सभामुखसहित जम्मा २५ सांसदका साथ एक्लिएको छ। यसको विपरीत, कांग्रेस, जसपा नेपाल, जनमत लगायतका सात दलीय गठबन्धन ७३ जना सांसदको साथसहित बलियो अवस्थामा रहेको छ।
अबको प्रक्रियामा सर्वोच्चको आदेशानुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया दिनुहोस्: