हेटौँडा बजारका व्यवसायी आन्दोलित
हेटाैंडा । बागमती प्रदेशको राजधानी हेटौँडा बजारमा व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । सडक डिभिजन कार्यालयले सडक दायाँबायाँ २५–२५ मिटर भित्रका संरचना हटाउन सूचना जारी गरेपछि घरधनी र व्यवसायीहरू सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्।
मुआब्जा माग गर्दै उनीहरूले मंगलबार पनि सडकमा नाराबाजी गरेका छन्।
हेटौंडास्थित सडक डिभिजन कार्यालयले २०७३ सालदेखि नै सडक क्षेत्रमा बनाइएका संरचना हटाउन पटकपटक सूचना निकाल्दा पनि घरधनी र व्यवसायीहरुले अटेरी गर्दै आएका छन् ।
यसपटक भने सडक डिभिजनले ‘अन्तिम सूचना’को संज्ञा दिँदै सडक क्षेत्रभित्र निर्मित घरटहरा तथा संरचना यही मंसिर १९ भित्र हटाउन अल्टिमेटम दिँदै नहटाइए मंसिर २० देखि डोजर चलाउने चेतावनी दिएको छ।
व्यवसायीको हकहितका लागि स्थापित उद्योग वाणिज्य संघले प्रतिवाद नगरेको, मुआब्जाका लागि जिल्ला प्रशासन कार्यालयले कुनै भूमिका नखेलेको तथा राजनीतिक दलहरूले पनि हेटौँडा बजार जोगाउन पहल नगरेको गुनासो उनीहरूले गरेका छन्।
संघीय सरकारकै पहलमा राष्ट्रिय राजमार्ग फराकिलो बनाउने निर्णयविरुद्ध यसअघि मकवानपुर उद्योग वाणिज्य संघले पटकपटक विरोध कार्यक्रम गरेको थियो।
सडक डिभिजन कार्यालय (हेटौँडा) का प्रमुख गुरुप्रसाद अधिकारी भने मंसिर १९ सम्म सडकका अतिक्रमित क्षेत्र खाली नगरिए मंसिर २० देखि सवारीसाधन रोकेर भए पनि सडक विस्तार गर्ने तयारी गरेको छ ।
सडक डिभिजन कार्यालयका अनुसार महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ गरी ९.५ किलोमिटर सडक विस्तार गरिनेछ। महेन्द्र राजमार्गको हेटौँडा १५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तिपुलसम्म ६.३ किलोमिटर र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ३।२ किलोमिटर सडक विस्तार गर्नुपर्ने छ। सडक विस्तारका क्रममा ५३१ घरटहरा भत्किने तथ्यांक कार्यालयले निकालेको छ।
मंसिर १९ सम्म पर्खने र २० गतेदेखि बजार क्षेत्रमा डोजर लगाइने अधिकारीले बताए। उनका अनुसार सडक विस्तारका लागि २० वटा डोजर तयारी अवस्थामा राखिएका छन्। अपुग भए काठमाडौँबाट थप डोजर मगाउने विचार गरिएको उनले बताए।
सडक विस्तारका क्रममा हेटौँडा बजार क्षेत्र भएर गुड्ने सवारीसाधानका लागि बाइपास सडकसमेत तयार पारिएको उनको भनाइ छ। यसपटक म्याद थपिने वा स्थानीयको दबाबमा सडक विस्तार रोकिने कुनै सम्भावना नरहेको दाबी उनले गरेका छन्।
सडक विस्तार अघि बढाउन मकवानपुर जिल्ला प्रशासन कार्यालय पनि सक्रिय भएको छ।
जिल्ला प्रशासनले सूचना जारी गर्दै हालको सडकबाट दायाँ(बायाँ २५२५ गजभित्र रहेका संरचना हटाउन स्थानीयलाई आग्रह गरेको छ। सडक डिभिजनको सूचनालाई आधार मानेर व्यावसायिक संरचना तथा अन्य निर्माण सामग्री हटाएर सहयोग गरिदिन प्रशासनले भनेको छ।
प्रतिक्रिया दिनुहोस्: