हर्क साम्पाङको पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’, विदेशीले नेपालीसँग विवाह गरेको पाँच वर्षपछि नागरिकता पाउने
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले प्रमुख सिद्धान्तका रुपमा ‘हर्कवाद’ अपनाउने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष रहेका हर्कराज राई (साम्पाङ) ले ‘हर्कवाद’ को अवधारणा सार्वजनिक गरेका छन् ।
श्रम संस्कृति र प्रविधिको प्रयोगले मात्रै देशको उन्नति गर्न सक्ने उनको ठहर छ । पार्टीको सिद्धान्त सार्वजनिक गर्दै साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै समाजमा व्याप्त अभाव, गरिबी, विभेद हट्ने बताए । उनले भने, ‘गरिबी र अभावबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ । त्यो नै मूल राजनीतिक दर्शन हो । त्यो नै हर्कवाद हो ।’
उनले सार्वजनिक गरेको पार्टीको सिद्धान्तमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा अघि सारिएको छ । उनले भने, ‘कार्यकारी राष्ट्रपतिको एक कार्यकाल ५ वर्षको हुनेछ भने एक व्यक्ति २ पटकभन्दा बढी चुनिन पाउने छैन ।’
राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग र एकै जाति–समुदायको नरहने आफ्नो पार्टीको सिद्धान्त रहेको साम्पाङले बताए ।
उनले सार्वजनिक गरेको पार्टीको सिद्धान्तको पूर्ण पाठ यस्तो छ :
१. राजनीतिक तथा शासकीय सुधार
– कार्यकारी प्रमुख : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने।
समावेशी व्यवस्था : राष्ट्रपति र उपराष्ट्रपति फरक(फरक लिंग र जातिका हुनुपर्ने।
– मन्त्रीपरिषद् : विज्ञहरूको समावेशी मन्त्रीपरिषद् हुने।
– सांसदको भूमिका : सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने।
– न्यायपालिका र व्यवस्थास् संघात्मक शासन प्रणाली, स्वतन्त्र र निष्पक्ष न्यायपालिका हुने। संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्था रहने।
– निर्वाचन प्रणाली : पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाइने।
– प्रतिनिधित्व : प्रतिनिधिसभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने।
२. राष्ट्रियता र परराष्ट्र नीति
– अखण्डता : भौगोलिक अखण्डता कायम राखिने।
– सीमा सुरक्षा : सीमा अतिक्रमणमा रोक लगाई नेपाली सेनालाई सीमामा खटाइने।
– वैदेशिक नीति : असंलग्न परराष्ट्र नीति लिइने।
–नागरिकता : नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशी नागरिकले पाँच वर्ष बसेपछि र विदेशको नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता पाउने।
– आइएनजिओ : देशमा क्रियाशील सबै आइएनजिओ खारेज गरिने।
३. शिक्षा र युवा
– शैक्षिक ढाँचा : हप्तामा ३ दिन मात्र पढाइने र बाँकी ४ दिन उत्पादन र साहित्यमा लगाइने।
– जीवन उपयोगी शिक्षा : १२ कक्षासम्म पढ्दा विद्यार्थीलाई खाना पकाउन र लुगा सिउन सिकाइने।
– अनिवार्य तालिम : १२ कक्षा पासपछि अनिवार्य सैनिक तालिम दिइने, त्यसपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था गरिने।
– शिक्षक राजनीति : शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन रोक लगाइने।
– युवा आयोग : जेनजीको गुनासो सुन्न छुट्टै आयोग बनाइने।
४.आर्थिक नीति र श्रम
– कर प्रणाली : वैज्ञानिक कर लागु गरिने (धनीबाट बढी लिएर गरिबलाई छुट दिइने)।
– श्रमदान : सबै नागरिकलाई श्रमदानमा जोडिने।
–अर्थव्यवस्था : स्वदेशी उत्पादन र बजारलाई प्राथमिकता दिइने। ‘एक गाउँ एक उद्योग’ स्थापना गरिने।
– सार्वजनिक खर्च : सरकारी चालु खर्च कटौती गरिने र आर्थिक रूपमा मितव्ययी हुने।
– सामाजिक सुरक्षा : श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवा दिइने। गरिब जनताको पहिचान गरी गास, बास र कपासको व्यवस्था गरिने।
–स्वरोजगार : ‘एक घर एक स्वरोजगार’ नीति लागु गरिने।
– विदेशी लगानी : अन्तर्राष्ट्रिय लगानी (निसर्त) मात्र लिइने।
५. सुशासन र अन्य
– धर्मनिरपेक्षता : राज्यको कुनै धर्म हुने छैन र कसैलाई काख कसैलाई पाखा गरिने छैन। कसैको करकापमा धर्म परिवर्तन गर्ने नदिइने।
– प्रशासनिक सुधार: सरकारी कर्मचारीलाई गल्ती गरेमा सरुवा मात्रै होइन जागिरबाटै हटाइने।
– गैरराजनीतिकरण :पत्रकार, सरकारी कर्मचारी, र न्यायलयलाई गैरराजनीतिक बनाइने।
– पारदर्शिता : बैठकहरू लाइभ गरिने।
प्रतिक्रिया दिनुहोस्: