पोखराबाट प्रचण्डले भने– यो सरकार मैले र माधव नेपालले रातभर बसेर बनाएको हो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् । पोखराको चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एकजुट हुनु अत्यावश्यक भएको बताएका हुन् ।
प्रचण्डले एमाले र कांग्रेसका दुईतिहाइबाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस–एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे । ‘ हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्न पनि दिइएन । भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न हामीसँग शक्ति पुगेन,’ उनले भने ।
कम्युनिस्ट एकताको अभियान चुनावका लागि मात्रै होइन
प्रचण्डले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे । ‘चुनाव त हामी जित्छौँ, जित्छौँ । तर, राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ,’ उनले भने ।
चुनाव २१ फागुनमै हुनुपर्छ
आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन हुनैपर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे । पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने उनले विश्वास व्यक्त गरे ।
‘सरकारले जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन । यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो,’ प्रचण्डले भने ।
देशमा जनता संगठित र सचेत नभए पुनः ठूलो संकट उत्पन्न हुने चेतावनी पनि प्रचण्डले दिए ।‘यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउन सक्छ, उनको भनाइ थियो ।
सभामा सहभागी कार्यकर्ताले प्रचण्डले उठाएको राष्ट्रिय स्वाधीनता, एकता र चुनावसम्बन्धी मुद्दालाई देश राजनीतिक रूपले संवेदनशील मोडमा पुगेको संकेतका रूपमा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: