बैतडीमा सर्वसम्मत भनिएको प्रतिनिधि छनोट विवादित, गाउँपालिका अध्यक्षले छोडे एमाले
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि बैतडीमा सर्वसम्मत भनिएको प्रतिनिधि छनोट दुई गुटका कारण विवादित भएको छ । प्रतिनिधि छनोट गर्दा सर्वसम्मतको नाममा गुटगत चलखेल गरेको आरोप लगाउँदै गाउँपालिका अध्यक्षले नै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनी पार्टीको प्रदेश सल्लाहकार समिति सदस्य हुन् । ‘आजदेखि नेकपा एमाले बैतडी पार्टीको जिम्मा लिलाधर भट्टलाई तथा गाउँपालिका पार्टीको जिम्मा बिना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै म आफू नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु ,’ चन्दले भनेका छन् । लिलाधर एमालेका केन्द्रीय सदस्य हुन् भने बिना एमालेबाटै विजयी गाउँपालिका उपाध्यक्ष तथा पुजारा वडाध्यक्ष हुन् ।
पार्टी परित्याग गरेको घोषणा गरेका चन्द एमालेबाट पञ्चेश्वरको अध्यक्षमा २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए । त्यसअघि उनी शिक्षण पेशामा आबद्ध थिए । उनले लिलाधर र पूर्वमन्त्री दामोदर भण्डारीले आफूलाई प्रतिनिधि नै बन्नबाट रोक लगाइएको आरोप लगाएका छन् ।
उनले आफूले प्रतिनिधिका लागि उम्मेदवारी दिए पनि सहमतिका नाममा आफ्नो नाम हटाइएको पनि बताएका छन् । ‘यो पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाले बेलाबेलामा उकुसमुकुस हुन्थ्यो,’ चन्दले भनेका छन्, ‘पार्टीभित्रको निरङ्कुशताकाविरुद्ध बेलाबेला लडिरहेँ । तर, सकेनँ ।’
एमाले बैतडीले विवाद जारी रहे पनि १५ जना सर्वसम्मत प्रतिनिधि छनोट गरिएको भन्दै शनिबार नै सूची सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: