Bagmati Samachar Logo

स्वार्थ समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी र संविधान संशोधनका बारेमा छलफल चलाइरहेका छन् : रक्षा बम

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले पछिल्ला दिनहरूमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ र ‘तत्काल संविधान संशोधन’ लेखिएको ड्राफ्ट शहरभरि वितरण भइरहेको दाबी गर्दै यसबारे चेतावनी दिएकी छन् ।

बमका अनुसार उक्त ड्राफ्ट अहिले मात्र नभई २४ भदौ (सेप्टेम्बर ९) देखि नै मानिसका हातमा पुग्न थालेको थियो । उनले यसलाई केही स्वार्थप्रेरित समूहले संविधानको मूल मर्ममै प्रहार गर्न खोजेको चाल भनेर टिप्पणी गरेकी छन् । प्रधानमन्त्री र एमाले शीर्ष नेताबीच गत शुक्रबार भएको भेटमा पनि यही ड्राफ्टबारे कुराकानी भएको समाचार सार्वजनिक भइसकेको उनले उल्लेख गरिकी छन् ।

‘नेपालको संविधान २०७२ वर्षौंको संघर्ष, रगत–पसिनाले बनेको ऐतिहासिक दस्तावेज हो । केही स्वार्थप्रेरित मानिसहरूले यसको मूल भावनालाई नै कमजोर बनाउने गरी संशोधनको मुद्दा उठाइरहेका छन् र जेन–जी साथीहरूलाई गोटी बनाउन खोजिरहेका छन्’, उनले सामाजिक सञ्जालमा भनेकी छन् ।

उनले पछिल्लो समय जेन–जी युवाहरू मात्र होइन, समाजमा प्रभाव राख्ने केही व्यक्ति पनि उक्त ड्राफ्ट बोकेर छलफलमा हिँडिरहेको जानकारी आफूहरूले पाएको जानकारी गराएकी छन् ।

रक्षाले जेन–जीपुस्ता संविधान र लोकतान्त्रिक प्रक्रियाबारे पर्याप्त जानकारीबिना आकर्षक नारामा बहकन सक्ने जोखिम पनि औँल्याइन् । ‘कतिपय साथीहरू आन्दोलनमै थिएनन् । कतिपयलाई त संविधान के हो भन्ने आधारभूत ज्ञान पनि थिएन । उनलाई लाग्छ– व्यवस्था फेरिए रातारात सबै समस्याको जादुयी समाधान आइलाग्छ । तर, देश जादुको छडीले चल्दैन’, उनले लेखेकी छन् ।

रक्षाले आफूहरू संविधान पुनरावलोकनको विरोधी नभएको, तर प्रक्रिया लोकतान्त्रिक हुनैपर्ने स्पष्ट पारिन् । ‘प्रत्यक्ष निर्वाचित प्रणाली चाहिन्छ भने चुनावमा घोषणापत्रकै माध्यमबाट जनताबाट जनादेश लिनुपर्छ । लोकतान्त्रिक उपाय यही हो,’ उनले भनिन् ।

स्टाटसको अन्त्यतिर रक्षाले संक्रमणकालीन अवस्थामा अनावश्यक हस्तक्षेप गर्दै देशलाई अनिश्चिततामा धकेल्न खोज्नेहरूलाई ‘होसियार’ भन्दै चेतावनी दिएकी छन् ।