ज–जसले श्रीमतीलाई जागिर लगाउने श्रेष्ठलाई हटाउनुपर्छ भने, प्रधानमन्त्रीले उनीहरूलाई नै हटाइदिइन्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छन् । अहिले सचिवालयमा २० जना कार्यरत रहेकोमा १६ जनालाई हटाएर ६ जनालाई मात्रै राख्ने निर्णय भएको छ ।
प्रधानमन्त्री सचिवालयमा अब एक जना मुख्य सल्लाहकार, एक जना जनसम्पर्क सल्लाहकार, एक जना प्रमुख स्वकीय सचिव, एक जना प्रेस संयोजक, एक जना फोटोग्राफर र एक जना जनस्वास्थ्य विज्ञ गरी ६ जना मात्र रहनेछन् ।
यद्यपि, प्रधानमन्त्री कार्कीले विवादित प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन् । पहुँचको दुरुपयोग गरी श्रीमतीलाई सचिवालयमा जागिर लगाएको भन्दै उनको आलोचना भइरहेको थियो । योसँगै प्रधानमन्त्री कार्की विवादमा तानिएकी थिइन् ।
जेन–जीले समेत श्रेष्ठलाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री कार्कीले भने जेन–जीको मागमा सही थाप्ने सचिवालयका कर्मचारीलाई हटाएर श्रेष्ठलाई भने कायमै राखेकी हुन् । ‘ज–जसले प्रमुख स्वकिय सचिव श्रेष्ठलाई हटाउनुपर्छ भनिरहनुभएको थियो, उनीहरूलाई नै पो हटाइएछ,’ बालुवाटारनिकट स्रोतले भन्यो ।
व्यापक आलोचनापछि श्रेष्ठकी श्रीमती संगीतालाई भने प्रधानमन्त्रीले हटाएकी छन् । श्रेष्ठसहित, कमला श्रेष्ठ, रमेशराज दाहाल, अर्जित खड्का, आकृति घिमिरे, सृष्ट ढुंगेल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जिला कायस्थ, रविना श्रेष्ठ, हरिबाबु श्रेष्ठ, मिरा अधिकारी, प्रदिप ज्ञवाली र अरुण कटुवाललाई सचिवालयबाट हटाइएको हो ।
जेनजी लगायत पक्षबाट उठाइएका प्रश्नलाई लिएर प्रधानमन्त्री कार्कीले सचिवालय र विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी हुन् ।
निर्णय भोलि (मंसिर ११) देखि लागु हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: