धनगढीमा एमाले कार्यकर्ताले जेन–जीमाथि आक्रमण गरेपछि तनाव
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई जुन जिल्लामा गएपनि जेनजीले शान्ति पूर्ण विरोध प्रर्दशन गर्दै आएका छन् । आज बस्नेत सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी पुगेका छन् । धनगढी पुगेका बस्नेतले पछिल्ला दुई महिनामा जेनजी विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिदै आएको भन्दै जेनजीले विरोध गर्दै आएका ाछन् ।
आज युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी पुगेका थिए। सोही क्रममा आज बस्नेत सुदूरपश्चिमको राजधानी धनगढी आउने कार्यक्रम तय भएपछि जेन–जी युवाहरू सडकमा उत्रिए । जेन–जी मार्गनजिक बिहान १० बजेदेखि नै जेन–जी युवाहरूले प्लेकार्डसहित प्रदर्शन गरिरहेका थिए । उनीहरूले (किलर आर नट अलाउड) लगायतका नाराबाजी गरिरहेका थिए । ४०–५० को संख्यामा रहेका उनीहरूलाई प्रहरीले सुरक्षा घेरामा राखेको थियो । आफू अलर्ट रहेको सन्देश दिन एकपटक सेनाले पनि रेकी गरेको थियो ।
जेन–जीले प्रदर्शन गरिरहेको सडक हुदै बस्नेत कार्यक्रमस्थल कैलाली उद्योग वाणिज्य संघ गइरहेका थिए ।
जेन–जी युवाहरूले नाराबाजीसहित प्रदर्शन जारी राखेका थिए । प्रदर्शनकारीभन्दा दोब्बर बढीको संख्यामा रहेका एमाले कार्यकर्ताले प्रदर्शनस्थलमा मोटरसाइकल र्याली रोकेर लगातार हर्न बजाएर जेनजीलाई गिज्याउन थाले ।
एक मिनेट हर्न बजाएर जेन–जीको नाराबाजी दबाएका एमाले कार्यकर्ताले प्रहरीको घेरा तोड्दै जेन–जी युवामाथि आक्रमण गरे । सो क्रममा जेन–जी अगुवा सरिता जोशी लडेर घाइते भएकी छिन् भने अन्य युवामाथि हेल्मेट र लौरीले प्रहार गरिएको छ ।
एमाले कार्यकर्ताले आक्रमण गर्दा प्रहरी मुखदर्शक भएको आरोप प्रदर्शनकारीको छ । तर, आक्रमणका क्रममा एमाले कार्यकर्ताले केही प्रहरीलाई पनि कुटपिट गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले प्रदर्शनस्थल भएर एमाले नेता बस्नेत जाने क्रममा झडपको अवस्था सृजना भएको बताए ।
प्रतिक्रिया दिनुहोस्: