Bagmati Samachar Logo

रास्वपाले ७ महिनामै ७ प्रदेशका इन्चार्जहरुलाई जिम्मेवारीमुक्त गर्यो,पार्टी छोडेका परियार पनि परे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सात महिनामा नै सातै प्रदेशका इन्चार्जलाई जिम्मेवारीबाट हटाएको छ । जसमा रास्वपा छोडेर प्रगतीशील लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य सन्तोष परियार पनि छन् । रास्वपाको ९ मंसिरमा बसेको सचिवालय बैठकले आगामी निर्वाचनमा केन्द्रित हुने भन्दै सातवटै प्रदेशका इन्चार्जलाई जिम्मेवारी मुक्त गरेको हो ।

यसरी जिम्मेवारीबाट हटाइएकामा पार्टी छोडेका परियार कोशी प्रदेश इन्चार्ज थिए । अन्यमा मधेश प्रदेश इन्चार्ज मनिष झा, बागमती लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनी विपिन आचार्य, कर्णाली गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल छन् । सात महिनाअघि मात्रै रास्वपाले सबै प्रदेशमा इन्चार्ज तोकेको थियो । त्यतिखेर प्रदेश इन्चार्जमा नपरेपछि असन्तुष्ट बनेकी सुमना श्रेष्ठले पार्टी छोडिसकेकी छिन् ।

‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो’, रास्वाको निर्णयमा भनिएको छ । तर, नयाँ जिम्मेवारी तोकिसकिएको छैन ।

सचिवालय बैठकले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको जनाएको छ । ‘सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो,’ रास्वपाले भनेको छ, ‘सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो ।’

पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय पनि रास्वपाको छ ।

सबै पालिकामा पार्टीको र्‍यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय पनि रास्वपाले गरेको छ ।

बैठकले कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय पनि गरेको छ ।