काठमाडौंको खुल्ला मञ्च नपाएपछि एमालेले महाधिवेशनस्थल भक्तपुरको सल्लाघारी सार्यो
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने भएको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डप वा खुल्ला मञ्चमा गर्ने भनिएको महाधिवेशन सल्लाघारीको खुल्ला चौरमा गर्न लागिएको हो ।
बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११औँ महाधिवेशन सचिवालयको पहिलो बैठकले महाधिवेशन भक्तपुरमा गर्ने निर्णय गरेको छ ।
देशभरका नेता–कार्यकर्ताका कारण उत्पन्न हुन सक्ने ट्राफिक व्यवस्थालगायतका कारण देखाउँदै एमालेले भक्तपुरमा महाधिवेशनको उद्घाटन सत्र गर्न लागेको बताइएको छ । तर उद्घाटन खुल्ला मञ्चमा गर्न खोजेको थियो । तर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले खुल्ला मञ्च नदिने भएपछि भक्तपुर सारेको हो ।
बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ ।
त्यस्तै, एमालेको महाधिवेशनको नारा यसअघि विधान महाधिवेशनमा तय गरेकै हुनेछ, जसमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ राखिएको थियो ।
नेकपा एमालेले आगामी २७ मंसिर देखि ३ दिनसम्म नेतृत्व छान्ने महाधिवेशन गर्दै छन् । १३ गते देशभरीबाट प्रतिनिधिहरु चयन हुँदै छन् । महाधिवेशनमा केपी शर्मा ओली तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा छन् भने सधै ओलीलाई साथ दिदै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरले मंगलबार अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: